Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इण्डोनेशिया : सुनामीले मृत्यु भएकालाई सामूहिक चिहानमा गाड्ने तयारी

Loading

बीबीसी । इण्डोनेशियाका अधिकारीहरूले भूकम्प र सुनामीका कारण ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान गएपछि उनीहरूलाई सामूहिक चिहानमा गाड्न शुरू गर्ने बताएका छन्। रोगहरू फैलनसक्ने भयका कारण त्यसो गर्न लागिएको उनीहरूले बताएका हुन्।

शुक्रवार भूकम्प र त्यसपछि सुनामी आएको इण्डोनेशियाको पालु नगरमा ठूलो मात्रामा क्षति पुगेका तस्बिरहरू आइरहेका छन्। अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको छ।

विकट क्षेत्रमा पुग्दासम्म उक्त संख्या तीव्र रूपमा बढ्नसक्ने ठानिएको छ। दर्जनौँ मानिसहरू भग्नावशेषमा जीवित फसिरहेका हुनसक्ने ठानिएको छ। पालु नगरमा उद्धारकर्मीहरू होटल र किनमेल केन्द्रमा खोजीका लागि भारी उपकरणहरूको प्रतीक्षा गरिरहेका छन्। परकम्पहरूले असुरक्षित पारेका कारण उनीहरू त्यहाँ जान सकिरहेका छैनन्।

राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपफ पूर्वो नुग्रोहोले भने, “सञ्चार सीमित छ र भारी उपकरणहरू पनि सीमित छन्। जति भवनहरू भत्किएका छन् त्यसका लागि भएका उपकरणहरू पर्याप्त छैनन्।”

शुक्रवार ७.५ म्याग्निच्यूडको भूकम्प गएपछि सुनामी आउनसक्ने भनी सतर्क गराइएको थियो तर सुनामीको ठूला छाल आउँदा पनि त्यो जारी थियो की थिएन भन्ने चाहिँ स्पष्ट छैन। इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् र बाँचेकाहरूको उद्धारका लागि दिनरात प्रयास गर्न भनेका छन्।

विडोडोले विपद्पछिको राहतका लागि अन्तर्राष्ट्रिय सहायता स्वीकार गरेको पनि इण्डोनेशियाको लगानी बोर्डका प्रमुख थोमस लेम्बोङले सोमवार ट्विटरमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed