![]()
धनुषा । केन्द्र सरकारको सत्तारुढ दल नेकपाभित्रै विवाद बढिरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध खनिएका छन् ।
मुख्यमन्त्री राउत र मन्त्री सोनलले केन्द्रीय सरकारबाट संघीयता मास्ने काम भइरहेको आरोप लगाएका छन् । संघीय सरकारका असहयोगका कारण प्रदेशमा विकास हुन नसकेको गुनासो उनीहरुको थियो । प्रदेश सरकार गठन भएको आठ महिना भइसकेपनि अझै पूर्णता नभएको गुनासो गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेश सरकारको हात खुट्टा बाध्ने काम गरेको बताए ।
उनले भने, ‘प्रदेश सरकार गठन भएको आठ महिना भइसक्यो बल्ल एउटा कार्यालय स्थापना गर्न पाएका छौं । यो कार्यालय चार महिनाअघि नै स्थापना भइसक्नु पथ्र्यो तर संघीय सरकारको असयोगका कारण ढिलो भएको छ ।’
जनकपुरमा जलस्रोत तथा सिचाई डिभिजन कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले पठाएको कर्मचारीमध्ये आधा कर्मचारी पनि प्रदेशमा नआएको गुनासो गरे ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत प्रदेशमा काम गर्ने भनि प्रतिवद्धता जनाएको भएपनि काम गर्ने वातावरण नपाएको उनले गुनासो गरे ।
केन्द्रबाट प्रदेशलाई दिइने अधिकार र सेवा सुविधाको बारेमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेको तर उनले अल्झाउने काम गरेको उनको गुनासो थियो । उनले भने, ‘संघीयतालाई असफल बनाउन केन्द्र सरकार लागिपरेको छ । त्यसलाई प्रदेश सरकारले असफल हुन दिनेछैन ।’
प्रदेश सरकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याएसम्म मुलुक समृद्ध नहुने पनि उनले ठोकुवा गरे । यद्यपी प्रदेशमा केही गरेर देखाइछाड्ने उनको दाबी थियो ।
यस्तै प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले पनि सरकारले प्रदेशलाई असहयोग गरेर संघीयतालाई कमजोर गर्न चाहेको आरोप लगाए । अहिलेको अवस्थासम्म आइपुग्दा संघीय सरकारको असयोगका कारण आफूहरुले सोचे जस्तो काम गर्न नसकेको उनले गुनासो गरे ।


