![]()
बीबीसी । न्यू योर्क टाइम्स पत्रिकामा आफ्नो सम्पादकीय विचार लेख्दै ट्रम्प प्रशासनका एक नाम नखुलेका वरिष्ठ अधिकारीले प्रजातान्त्रिक संस्थाहरूको रक्षा गर्नका लागि ट्रम्पका कतिपय योजनालाई विफल बनाउन आफ्ना सहकर्मीहरु लागि परेको बताएका छन्।
उनले आफूलाई ट्रम्प प्रशासनको “प्रतिरोधको हिस्सा” भएको बताउँदै सो लेख लेखेका हुन्। ती लेखकले ट्रम्प प्रशासनका केही उपलब्धिको प्रशंसा गरेका छन् तर ट्रम्पको “हठका कारण गलत र हठात निर्णयहरू” भएको उल्लेख गरेका छन्। उनका अनुसार ट्रम्पको स्वभाव नै समस्याको मूल कारण हो।
राष्ट्रपति ट्रम्पले ती नाम नखुलेका कर्मचारी र न्यू योर्क टाइम्सको खरो आलोचना गरेका छन्। उनले त्यो नाम नखुलाउने लेखकलाई “डरपोक” को संज्ञा दिएका छन्। उसको त्यस्तो लेख प्रकाशित गर्ने न्यू योर्क टाइम्सलाई “जाली” भन्दै ती व्यक्तिलाई सरकारसमक्ष बुझाउनु पर्ने ट्रम्पले बताएका छन्।
टाइम्सले चाहिँ आफ्नो पत्रिकामा छापिएको लेखको बचाउ गरेको छ। त्यो आलेखले मंगलबार चर्चित पत्रकार बब वुडवर्डले चित्रित गरेको ह्वाइट हाउसको निरस तस्बिरलाई पुष्टि गर्न खोजेको प्रतीत हुन्छ।


