![]()
काठमाडौं । एसीसी एसिया कप छनोट खेलका लागि श्रीलंकामा अभ्यास खेल खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आज बिदाइ गरिएको छ । क्रिकेट टिमलाई प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराको निवासमा बिदाइ गरिएको हो ।
नेपालले श्रीलंकामा पहिलो अभ्यास खेल अगस्ट २२ मा श्रीलंकाको आर्मी क्रिकेट टिमसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल अगस्ट २४ मा ब्लोमफिल्ड क्लबसँग खेल्नेछ भने अन्तिम अभ्यास खेल अगस्ट २६ मा कोल्ट्स क्लबसँग खेल्नेछ ।
मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म चल्ने प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली क्रिकेट टिम यसअघि नै घोषणा भइसकेको थियो । टिममा विनोद भण्डारी र सागर पुनको पुनरागमन भएको छ ।
श्रीलंकामा अभ्यास खेल खेलेर नेपाली टोली एसिया कप छनोटका लागि अगस्ट २७ मा मलेसिया पुग्नेछ ।


