Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारिएको रेल विभागका अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा दक्षिणी छिमेकीबाट काठमाडौंसम्म रेल ल्याउने सम्झौता भएपछि करिब दुई वर्षअघि चीनसँग भएको यस्तै समझदारीको प्रगतिबारे पनि चासो बढेको पाइन्छ।

अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौताका साथै अन्तरदेशीय रेल्वेबारे अध्ययन गर्ने समझदारी भएको थियो। त्यसैअनुरूप केही महिनाअघि एउटा उच्चस्तरीय चिनियाँ टोलीले नेपाल आएर अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन समेत गरेको थियो।

यो विषयमा नेपालले पनि हालै एक प्रारम्भिक अध्ययन गरेको रेल विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दुई हप्ताअघि एउटा प्रतिवेदन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पेश गरेका छौँ।“

केरुङबाट काठमाडौंसम्म करिब ७५ किलोमिटरको रेलमार्ग बनाउनु पर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। रेल विभागका अनुसार काठमाडौंबाट पोखराको दूरी झण्डै १८७ किलोमिटर लामो हुने र मुग्लिनबाट लुम्बिनीसम्म करिब १४० किलोमिटरको रेलमार्ग निर्माण गर्नुपर्ने देखिएको छ।

जटिल भौगोलिक अवस्था भएका कतिपय स्थानदेखि केही समथर भूभाग समेत ओगट्ने सो महत्त्वाकांक्षी रेलमार्गको लागत स्थान हेरी फरक हुने उपाध्यायले बताउनुभयो ।

उपाध्यायले भन्नुभयो, “केरूङबाट काठमाडौं प्रतिकिलोमिटर करिब ४ अर्ब ५० करोड रूपैयाँ, काठमाडौंबाट पोखरा करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर लाग्ने देखिएको छ। मुग्लिनबाट चितवन हुँदै लुम्बिनी जाने हो। मुग्लिनबाट चितवनसम्म करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर र त्यहाँबाट अगाडि करिब एक अर्ब २५ करोड रुपैयाँ लाग्ने देखिएको छ। “

यो खर्च प्रारम्भिक भएकाले परियोजनाले ठोस आकार लिएपछि त्यसमा निर्माण गर्नुपर्ने सुरूङ जस्ता पक्षले लागतमा फेरबदल आउन सक्ने बताइएको छ। नेपालसँग रेलमार्गबाट जोडिन दुवै छिमेकी देशले तत्परता देखाएको विषयलाई कतिपयले ती दुई आर्थिक शक्तिबीचको प्रतिस्पर्धाका रुपमा चित्रण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed