![]()
काठमाडौं । राजधानीका विभिन्न निजी अस्पताल तथा क्लिनिकबाट पक्राउ परेका १७ जना विदेशी डाक्टर तथा संचालकलाई प्रहरीले ठगी मुद्धा चलाएको छ। काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राखी उनीहरूलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। गत सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रूपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरेको थियो।
नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा सिआईबीले उनीहरूलाई पक्राउ गरेको हो।
राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा अवैध रूपमा काम गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमति लिनुपर्ने भएपनि नलिएर चलाएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

