![]()
बिबिसि । पूर्वी चीन सागरमा एउटा मालवाहक पानीजहाजसँग इन्धन बोकेको एउटा विशाल पानीजहाज ठोक्किएको दुई दिन पुग्दा तेलको चुहावटका कारण वातावरणीय विपद् निम्तिएको आशंका बढ्दै गएको छ ।
झण्डै १० लाख ब्यारल तेल लिएर सान्ची नामक उक्त इरानी पानीजहाज दक्षिण कोरियातर्फ गइरहेको थियो । चालक दलका सदस्यसहित ३२ जनाको खोजी कार्य खराब मौसम र कालो धुवाँको मुस्लोका कारण प्रभावित भइरहेको छ ।
हराइरहेकामध्ये ३० जना इरानी र दुईजना बांग्लादेशी रहेको जनाइएको छ । शनिबार सांघाईबाट १ सय ६० नोटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो । अहिलेसम्म चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भइसकेको छैन । सोमबार बिहानसम्म पनि उक्त पानीजहाजमा आगालागी भइरहेको जनाइएको छ।
’कण्डेन्सेट’ भनिने एक प्रकारको कच्चा तेल उक्त पानीजहाजले बोकेको र त्यसको चुहावट नियमित कच्चा इन्धनभन्दा वातावरणका लागि खतरनाक हुने बताइएको छ । यो सन् १९९१ यताकै सबैभन्दा खराब यस्तो प्रकृतिको दुर्घटना हुन सक्ने ठानिएको छ । इन्धन बोकेको उक्त पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ ।
चीनले उद्धार कार्यका लागि कैयौँ पानीजहाजहरू परिचालन गरेको छ र दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकोप्टर परिचालन गरेको छ । अमेरिकी जलसेनाले उद्धार कार्यमा मद्दत गर्न एउटा सैनिक हेलिकोप्टर पठाएको थियो ।


