![]()
बिबिसि । म्यानमारको अल्पसंख्यक रोहिंज्या मुस्लिम बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने बताएको छ ।
गत वर्ष आराकान सालभेशन रोहिंज्या आर्मी (आर्सा) ले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा ठूलो स्तरमा हिंसा निम्तिएको थियो । उक्त हिंसाका कारण कम्तीमा साढे ६ लाख रोहिंज्या मुस्लिमहरू भागेर बांग्लादेश पुगेका थिए ।
गत शुक्रवार रखाइन प्रान्तमा सेनाको ट्रकमाथि आफूले आक्रमण गरेको आर्साले दावी गरेको छ । म्यानमार सरकारले आर्सालाई एउटा उग्रवादी समूहको रूपमा हेर्दै आएको छ । तर, उक्त समूहले अल्पसंख्यक रोहिंज्या मुस्लिमको अधिकारका लागि लडिरहेको बताउने गरेको छ ।
म्यानमार सरकारले अल्पसंख्यक रोहिंज्या मुस्लिमहरूलाई आफ्नो देशको नागरिक मान्न अस्वीकार गर्दै आएको छ । उसले उनीहरूलाई बांग्लादेशबाट आएका अवैध आप्रवासी मान्ने गरेको छ । गत अगष्ट २५ मा आर्सा विद्रोहीको आक्रमणमा ३० जना प्रहरी मारिएका थिए भने सेनाको चौकी ध्वस्त भएको थियो । त्यसपश्चात् सेनाले जवाफी कारबाही थालेपछि रोहिंज्या मुस्लिमहरू देश छाड्न बाध्य भएका थिए ।
संयुक्त राष्ट्र संघले म्यानमारको सेनाले अल्पसंख्यक रोहिंज्या मुस्लिमविरूद्ध “जातीय सफाया“ गरेको बताउँदै आएको छ । तर म्यानमार सरकारले त्यसको खण्डन गर्दै आएको छ ।


