![]()
एजेन्सी,पुस ।
स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । सेल्टाको घरेलु मैदानमा भएको खेलमा ग्यारेथ बेलले दुई गोल गरेपनि रियल बराबरीमा रोकिन बाध्य भयो । सेल्टाका ड्यानियल वास र गोमेज गोन्जालेजले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता घरेलु टोली सेल्टाले लिएको थियो । खेलको ३३ औँ मिनेटमा ड्यानियल वासको गोलबाट सेल्टाले अग्रता बनाएको थियो । खेलको ३६ औं मिनेटमा बेलले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेट नबित्दै बेलले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल २–१ ले अघि रह्यो । गत सेप्टम्बर २० पछि ला लिगामा बेलले पहिलो पटक दुई गोल गरेका हुन् ।
पहिलो हाफमा २ – १ ले पछि रहेको घरेलु टोलि सेल्टाले ७२ औं मिनेटमा बराबरी गर्ने मौका पायो । सेल्टाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा सेल्टाका इएगो अस्पासले गोल गर्न सकेनन् । तर, खेलको ८२ औं मिनेटमा सेल्टाका गोमेजले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए ।
यो बराबरीपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी कम गर्ने मौका गुमाएको छ । बराबरीपछि १७ खेलबाट ३२ अंकसहित रियल लिगको चौथो स्थानमा छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि छ ।


