Breaking News.... EverestOnlineKhabar
March 12, 2026

अखिल क्रान्तिकारीलाइ बिद्यार्थी संगठन मध्येकै एक नम्बर बनाउँछु : रञ्जित तामाङ (अन्तर्वार्ता )

Loading

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २१औं एकताको राष्ट्रिय सम्मेलन यही भदौ ७ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । संगठनको नेतृत्वका लागि बिद्यार्थी नेताहरुबीच हानाथाप पनि सुरु भएको छ । २०५५ सालदेखि बिद्यार्थी राजनीतिमा सक्रिय बिद्यार्थी नेता रञ्जित तामाङले पनि नेतृत्वमा दावी गर्नुभएको छ । प्रस्तुत छ, अखिल क्रान्तिको नेतृत्वका दावेदार तामाङसंग एभरेष्ट अनलाइन खबरले गरेको कुराकानी ।

. अखिल क्रान्तिकारीको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
अखिल क्रान्तिकारीलाई यतिबेला रहरलाग्दो, भरलाग्दो बनाउनुपर्ने आवश्यकता छ, संगठनात्मक अस्तव्यस्ततालाई व्यवस्थित बिधि र पद्धतीमा लैजानु छ, यो संगठनलाई शैक्षिक आन्दोलनको नेता संगठन बनाउन आवश्यक छ । बिद्यार्थी राजनीतिमा मैले २०५५ देखि संगालेका अनुभवका आधारमा यी आवश्यकता पूरा गर्न आफू योग्य भएको ठानेर उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

. तपाईका एजेण्डाहरु के हुन ?
सबैभन्दा पहिला त यो संगठनलाइ बिद्यार्थी संगठन मध्यकै नम्बर एक संगठन बनाउनेमा मेरो ध्यान छ । त्यसका लागि बिश्वबिद्यालयदेखि स्कूल तहसम्मका बिद्यार्थीहरुको हकहित र अधिकारका विषयमा संगठन निर्माणको अभियान थाल्ने छु । शैक्षिक रुपान्तरणको अभियान संचालन गरी संविधानमा उल्लेखित स्वास्थ्य, शिक्षा र रोजगारका रुपमा ग्यारेन्टी भएको व्यवस्थालाइ कडाइका साथ लागु गर्न पहल गर्नेछु ।

सबै बर्ग र तहका बिद्यार्थीहरुले अध्ययन गर्न सक्ने गरी सार्वजनिक शैक्षिक संस्थाको विकासका निम्ति पहल गर्नेछु । निजी शैक्षिक संस्था र सार्वजनिक शैक्षिक संस्थाबीचको असमानता हटाउन योजनाबद्ध रुपमा अघि बढने छु । समग्रमा सबैको पहुँचमा निःशुल्क र अनिवार्य गुणस्तरीय शिक्षा नै देशको आवश्यकता हो, यसैलाइ मैले मु्ख्य एजेण्डा बनाएको छु, साथै शैक्षिक बेरोजगार समस्याबाट मुक्त हुन सरकारसमक्ष विशेष योजनाका लागि पहल गर्नेछु । बिगतमा सरकारसंग भएको सहमति अनुरुप शैक्षिक लोन कार्यान्वयनका लागि विशेष पहल गर्नेछु ।

.तपाई आफना प्रतिष्पर्धी भन्दा के हिसाबमा भिन्न हुनुहुन्छ ? तपाईलाइ किन जिताउने ?
म गफमा होइन काममा बिश्वास गर्छु । म ठिकलाइ ठिक र बेठिकलाइ बेठिक भन्न सक्छु । एउटा स्पष्ट र पारदर्शि व्यक्ति हुँ । बिद्यार्थीहरुको हक हीत र अधिकार बाहेक मेरो अरु कुनै स्वार्थ छैन, यो मेरो बिगतले पनि देखाउँछ । मैले अहिलेसम्म संगठनले दिएका सबै जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेको छु, संगठनमा काम गरेको अनुभवका आधारमा यो संगठनलाइ शक्तिशाली अखिल क्रान्तिकारी बनाउन मसंग दृष्टिकोण र योजना छ । जनताका छोराछोरी सबै अखिल क्रान्तिकारी भन्ने हामीले नारा बनायौं, म पनि एउटा जनताको छोरो हुँ, यसअर्थमा मलाई संगठनको नेतृत्वमा जिताउनु हुनेछ भन्ने बिश्वास छ ।

.तपाईहरु बिद्यार्थी नेता हुँ भन्ने तर नेताहरुको पिछलग्गु भएर हिंडेको भन्ने आरोप नी ? 

बिद्यार्थी आन्दोलनको प्रवृति प्रतिपक्षी आन्दोलन हो । यसले निरंकुशताकोबिरुद्धमा प्रतिरोध गर्छ, गुणस्तरीय शिक्षाको पक्षमा वकालत गर्छ, राष्ट्रियता र जनजीविकाका सन्दर्भमा सम्झौताहीत संघर्ष गर्छ, यो बिद्यार्थी आन्दोलनको मुल प्रवृति हो । बिद्यार्थी संगठन पेशागत आधारमा बनेको भ्रातृ संगठन हो, यसले आफनो पेशागत हकहीत र मर्यादालाइ विशेष ख्याल गर्छ । यो मर्यादा भित्र रहेर पार्टी नेताहरुसंग सम्बन्ध राख्छ । यो मर्यादा भन्दा बाहिर भएर राखिने सम्बन्धलाइ पिछलग्गु भन्न सकिन्छ तर हामी पेशागत हकहित र मर्यादा भन्दा बाहिर छैनौ । कहिलेकाहिं बिद्यार्थी संगठनमा यो समस्या देखिने गर्छ, त्यो चाहिं गलत हो ।

बिद्यार्थी संगठनहरु प्रभावहीन हुन थाले, यसको एउटा कारण बिद्यार्थी नेताहरुले निजी क्षेत्रका बिद्यालय संचालकसंग मिलेर पैसा खान्छन भन्ने सुनिन्छ नि ?
यो आरोप बिद्यार्थी संगठनहरुलाई बढी नै लाग्ने गरेको छ । हाम्रो संगठनमा पनि यदाकदा यो समस्या आएको छ, हामी एकताको यो २१औं राष्ट्रिय सम्मेलनबाट यस्ता समस्या आउन नदिन नीतिगत रुपमै निर्णय गर्दैछौं । म बिश्वास दिलाउन चाहन्छु कि अखिल क्रान्तिकारीले यसप्रकारका समस्या आगामी दिनमा हल गर्नेछु ।

.तपाईहरुको महाधिवेशनमा आफनो अनुकुलको अध्यक्ष बनाउन भनेर निजी क्षेत्रका शैक्षिक संस्था पनि लागेको देखियो, राम्रै होटल बुकिङ गरेको पनि पाइयो यो बिकृत होइन ?
यदि यो साँचो हो भने यो बिकृति नै हो, शैक्षिक असमानताका बिरुद्ध संघर्ष गरिहेको अखिल क्रान्तिकारीले निजी बिद्यालय संचालकहरुको साँठगाँठमा यस प्रकारका गतिविधि गर्ने कुरा असाध्यै गम्भीर छ, यो घुसपैठ हो, यस्तै अवाञ्छित गतिविधि रोक्न पनि नेतृत्वमा मेरो दावी हो ।

तपाईहरुको संगठनमा पनि नातावाद, कृपावाद धनवाद चलेको पाइन्छ नी, यसले निराशा ल्याउँदैन ?
हाम्रो संगठन बर्ग संघर्षको भट्टीमा जन्मिएको क्रान्तिकारी संगठन हो, हामी बिचारका आधारमा एउटै संगठनमा उभिएका छौं, हामी सामान्य जनताका छोराछोरी हौं, यसकारण पनि हाम्रो संगठनमा नातावाद, कृपावाद र धनवाद छ भनेर प्रश्न उठनु असाध्यै चिन्ताजनक विषय हो, हामी यो सम्मेलनबाट यसप्रकारको अफवादलाइ चिर्ने छौं । क्षमता, दक्षता र आवश्यकतालाई ध्यानमा राखेर सक्षम र योग्य नेतृत्व छनोट गर्नेछौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.