Breaking News.... EverestOnlineKhabar
February 8, 2026

दोस्रो चरणको स्थानीय तह निर्वाचनःशनिबारसम्म मतदान अधिकृत केन्द्रमा पुगिसक्ने

Loading

काठमाडौ,८ असार ।
असार १४ गते बुधबार हुने स्थानीय तहको चुनावका लागि सबै तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको चुनाव हुने ३५ जिल्लाका ३३४ तहमा यसअघि नै निर्वाचन अधिकृत र सुरक्षाकर्मी पुगिसकेका छन् । मतदान केन्द्रमा शनिबार बेलुकासम्ममा मतदान अधिकृत पुगिसक्ने आयोगले जनाएको छ । दुर्गम ठाउँमा मतदान अधिकृत जाने क्रम सुरु भइसकेको र शनिबार बेलुकासम्ममा सबै केन्द्रमा मतदान अधिकृत पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
मतदान अधिकृतसँगै मतदाता परिचयपत्र र मतपत्रसहितका आवश्यक चुनावी सामग्री पनि शनिबारसम्म मतदान केन्द्रमा पुर्‍याइसक्ने तयारी छ । आयोगले आइतबार, सोमबार र मंगलबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्नेछ । परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिइने प्रवक्ता शर्माले दिए ।
पहिलो चरणको चुनावमा धेरै मतपत्र बदर भएकाले यसपटक मतदाता शिक्षालाई प्रभावकारी बनाइएको आयोगको दाबी छ । यस्तै आचारसंहिता उल्लंघन बढेपछि अनुगमनलाई तीव्र पारिएको पनि आयोगले जनाएको छ । आयोगबाट खटिएका सुक्ष्म अनुगमनकर्ताले आचारसंहिता उल्लंघनबारे अनुगमन गरिरहेका आयोगका प्रवक्ता शर्माले जानकारी दिए । चुनाव आउन अब ६ दिन मात्रै बाँकी हुँदा दल र उम्मेदवारले चुनावी प्रचारलाई पनि तीव्र पारेका छन् । आउँदो आइतबारसम्म मात्रै चुनावी प्रचार गर्न पाइने भएकाले उम्मेदवारलाई भ्याईनभ्याई भएको छ । असारको बेला किसान खेतीपातीमा व्यस्त हुन थालेपछि कतिपय ठाउँमा उम्मेदवार खेतबारीमै पुगेर भोट मागिरहेका छन् ।
दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ मा चुनाव हुन लागेको हो । दोस्रो चरणमा एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १११ वटा नगरपालिका र २१५ वटा गाउँपालिका छन् । दोस्रो चरणको चुनावबाट १५ हजारभन्दा धेरै जनप्रतिनिधि चयन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.