Breaking News.... EverestOnlineKhabar
February 7, 2026

राजपालाई मनाउन प्रदेश–२ मा नयाँ मतपत्र छाप्ने तयारी

Loading

काठमाडौ,८ असार ।
राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ। निर्वाचन आयोग स्रोतले दिएको जानकारीअनुसार आन्दोलनरत राजपाले प्रदेश–२ मा २ असोजका लागि निर्धारित तेस्रो चरणको निर्वाचनमा सहभागी हुने सुनिश्चितता देखाए नयाँ मतपत्र छाप्न सकिने संकेत गरेको हो। ‘राजनीतिक परिस्थिति त्यहीअनुसार अघि बढेको छ। नयाँ दल दर्ता र नयाँ चिह्न दिनुपर्ने अवस्था देखिँदै छ। त्यो अवस्थामा नयाँ मतपत्र छाप्न आयोगलाई समय पनि छ। लामो समयसम्मको ग्याप केका लागि त ? उहाँहरू निर्वाचनमा सहभागी हुन समयभित्र नै प्रक्रियामा आए नयाँ मतपत्र छाप्न सकिन्छ।’ स्रोतले भन्यो ।
तर असार मसान्तभित्रै सरकार र राजपाबीच सहमति भएर प्रक्रियामा आइसक्नुपर्ने आयोगको भनाइ छ। नयाँ मतपत्र छाप्न सात साताको समय लाग्ने र सरकारले थप रकम उपलब्ध गराउनुपर्ने आयोग स्रोतले जनाएको छ। राजनीतिक दलहरूबीच सहमति भएअनुसार नै आयोगले काम कारबाही अघि बढाउने र निर्वाचन सबैका लागि र सबैलाई सहभागी गराउने उद्देश्यअनुरूप आन्दोलनरत पक्षसँग सरकारले सहमति गरेर नै निर्वाचन सारेकाले त्यो सम्भावना बढेको आयोग स्रोतले बताएको हो।
हाल निर्वाचन प्रयोजनका लागि दर्ता भएका बाहेक अन्य राजनीतिक दलहरूसमेत निर्वाचनमा सहभागी हुने अवस्था आएर नयाँ परिस्थिति बने आयोग नयाँ मतपत्र छाप्न तयार देखिएको छ। तर असारको अन्त्यसम्ममा नयाँ दलहरू दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया पूरा गरेर आउँदा मात्र त्यो सम्भावना रहने स्रोतले बताएको छ। प्रक्रिया पूरा गरेर दर्ता हुने नयाँ राजनीतिक दलहरूले समेत हाल कायम भएकै चिह्न लिन मान्ने अवस्था भए भने नयाँ मतपत्र छाप्नुपर्नेछैन। आयोगले अहिलेसम्म आन्दोलनरत पक्षलाई उनीहरूको मागबमोजिम निर्वाचन चिह्न दिने औपचारिक निर्णय भने गरेको छैन। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै प्रदेशका लागि मतपत्र तयारी अवस्थामा रहेकाले नयाँ मतपत्र छाप्ने विषयमा छलफल नै नभएको बताए।
सरकार र निर्वाचन आयोग नयाँ चिह्न दिन लचक भए पनि राजपा भने संविधान संशोधनकै अडानमा रहेको छ। आन्दोलनरत राजपाका महासचिव मनीष सुमनले मागहरू पूरा भए मात्र आफूहरू निर्वाचनमा सहभागी हुने कुरा सरकारसँग स्पष्ट रूपमा राखिसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.