![]()
काठमाडौं, २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको विरुद्धमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको आठ दलीय मोर्चामा थप तीन दल थपिएका छन् । अब महाअभियोगको विरुद्धमा नेकपा एमालेसहित ११ दल एक ठाउँमा उभिएका छन् ।
एमाले नेतृत्वको विपक्षी मोर्चामा सरकारबाट फिर्ता भएको राप्रपा, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सामेल भएका छन् ।
विहीबार बसेको बैठकले बैठकले महाभियोग फिर्ता लिन सरकारलाई जोडदार माग गरेको छ । बैठकपछि जारी वक्तव्यमा भनिएको छ– ‘नेपालका सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीकाविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव अनचित हुनुका साथै त्यसले शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिकाको मर्म र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रहार गरेकोले सो प्रस्ताव तुरुन्त फिर्ता लिई कानूनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक र नेपाल सरकारसँग माग गर्दछौं ।
वक्तव्यमा १० वटा दलका अध्यक्षले हस्ताक्षर गरेका छन् । यद्यपी उपेन्द्र यादवले वक्तव्यमा हस्ताक्षर गरेका छैनन् । उनले मौखिक रुपमा महाअभियोग विरुद्धको अभियानमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाइसकेका छन् । हिजो मात्रै उनले पत्रकार सम्मेलन गरेरै महाअभियोग फिर्ता लिन आग्रह गरेका थिए । त्यस्तै, महाअभियोग दर्ता भएकै दिन प्रधानमन्त्रीलाई फोन गरेर फिर्ता लिन आग्रह गरेका थिए ।
११ दलीय मोर्चामा एमालेमा १८१, राप्रपामा ३४, नेपाल लोकतान्त्रिक फोरममा १६, संघीय समाजवादी फोरममा १५, मालेमा ५, नेपाल मजदुर किसान पार्टीमा ४, राष्ट्रिय मोर्चामा ३, परिवार दलमा २ जना सांसद छन् । त्यस्तै, बौद्धिक जनतान्त्रिक परिषद, बहुजन शक्ति पार्टी र मधेश समता पार्टीमा एक/एक जना सांसद छन् ।


