Breaking News.... EverestOnlineKhabar
April 19, 2026

विराटनगर महानगरपालिकामा महासंग्रामःशीर्ष नेताहरुको ध्यान विराटनगरतिर…..

Loading

विराटनगर,११ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सवैदलहरुको ध्यान विराटनगर महानगरपालिका तिर केन्द्रित भएको छ । विराटनगरमहानगरपालिकाको चुनावमा सबैदलको ध्यान केन्द्रित भएकाले निर्वाचनमा सहभागि दलका शीर्ष नेताहरु विराटनगर तिरै केन्द्रित भएका छन् । प्रदेश नम्बर १ को एकमात्र महानगरपालिका विराटनगरको चुनावी जित–हार राजनीतिक प्रतिष्ठासँग जोडिएसँगै चुनावी सरगर्मी उत्कर्षमा पुगेको हो । मुख्य दलहरुले महानगरको चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन् । विराटनगर महानगरपालिकामा मिश्रित बसोबास रहेको र कुनैपनि दलको स्पस्ट जनाधार नभएकाले निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न दलहरु तीव्ररुपले लागिपरेका छन् ।
नेपाली कांग्रेस र राप्रपाबाहेक अरु दलहरुले चुनावी तालमेल गरेका छन् । नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमले तालमेल गरेका छन् । एमाले–लोकतान्त्रिक फोरमबाट मेयरमा विनोद ढकाल, उपमेयरमा सूची चौधरी र माओवादी–संघीय समाजवादी फोरम नेपाल गठबन्धनबाट मेयरमा उमेश यादव, उपमेयरमा नमिता न्यौपाने चुनावी प्रतिस्पर्धामा रहेका छन् । संविधानसभाको दोस्रो निर्वाचनमा महानगरमा पर्ने क्षेत्र नम्बर–५, ६ र ७ मा कांग्रेस विजयी भएको थियो । यसैलाई आधार मानेर नेपाली कांग्रेस महानगरको निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रिएको हो । कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई अघि सारेको छ ।
विराटनगर महानगरपालिकामा अरु दलभन्दा आफ्नो स्थिति मजबुत् रहेको कांग्रेसको दाबी छ । तर, अन्तर्घातको समस्या कांग्रेसको टाउको दुखाइ भएको छ । नेपालको राजनीतिमा लामो इतिहास बोकेको र कोइराला परिवारको विरासतसँग गाँसिएकाले कांग्रेसलाई पुरानो विरासत जोगाउनैपर्ने चर्को दबाब छ । त्यसैले, कांग्रेसले चुनावी दौडाहामा प्रभावशाली नेता विमलेन्द्र निधिलाई कमान्डर तोकेको छ भने नेताहरु शेखर कोइराला, महेश आचार्य र मीनेन्द्र रिजाल एक सातादेखि विराटनगरमै केन्द्रित छन् । उनीहरुले चुनावीसभालाई सम्बोधनमात्र गरेका छैनन्, मतदाताको घरदैलो पनि धाइरहेका छन् ।
अरु दलहरु राजनीतिक इतिहास बोकेको विराटनगरमा कांग्रेसको विरासत भत्काएर इतिहास रच्ने दाउमा छन् । एमाले र माओवादी केन्द्र कांग्रेसको विरासत भत्काउने दाउमा छन् भने दुई मधेसकेन्द्रित दल जिल्लामा आफ्नो बलियो पकड बनाउने दाउमा छन् । यही रणनीतिका साथ नेकपा एमाले, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुले विराटनगरका चुनावीसभालाई सम्बोधन गरेका छन् भने प्रभावशाली नेताहरु विराटनगरमै केन्द्रित रहेका छन् ।आफ्नो गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली,संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव,नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र माओवादी केन्द्रका शीर्ष नेता शनिवार विराटनगर पुगेका थिए ।
विराटनगर महानगरपालिकामा राप्रपाको पनि बलियो उपस्थिति रहेको छ । विराटनगरका पूर्वमेयर प्रल्हाद शाह राप्रपाबाट मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको बलियो उपस्थितिको लागि राप्रपाका अध्यक्ष कमल थापा पनि विराटनगर पुगेका थिए । १ लाख १२ हजार ८ सय ३२ मतदाता रहेको विराटनगर महानगरपालिकामा मेयरमा १४ र उपमेयरमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed