Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत ५, बलेवा ।
हा..हा….विवाह भयो नि हेर, विवाह भयो नी
हो..हो…वासुदेव र देवकीको विवाह भयो नी

हा…हा…जन्म भयो नि हेर, जन्म भयो नी
हो…हो….१२ बजे कृष्णजीको जन्म भयो नी

मादलको तालमा ताल मिलाएर सरस्वती उतारेपछि गाइने यो सोरठी गीत बाल खण्डमा पर्छ । यहाँका मगर समुदायले गाउँमा कसैलाई पुत्र लाभ भएको समयमा बडो हर्सोल्लासका साथ परिवार, आफन्त र गाउँले दाजुभाइ दिदीबहिनी जम्मा भएर यो गीत गाउने गर्दछन् । सोरठीमा विवाह खण्ड, बालखण्ड, जलमुल खण्ड लगायतका कयौँ खण्ड समावेश हुन्छन् । बिहे भयो वा पुत्र लाभ भयो भने सोरठी नाच्ने कलाकारलाई खबर आउँछ । अनि कलाकारको समूह त्यस घरमा जान्छन् र जुन खण्ड गाएर नाच्नु पर्ने हो सोही खण्ड गाउने र नाच्ने गर्दछन् । सोरठी गाएर नाच्नुपूर्व सबै देवी देवताको नाम लिएर तीन ताल मादल ठोक्नुपर्ने मान्यता छ । यसैलाई सरस्वती उतार्ने पनि भनिन्छ ।

सोरठी नाच मगर समुदायको संस्कृति हो । बागलुङ कला र संस्कृतिमा धनी जिल्ला हो । यहाँ बहुजाती र बहुभाषीको बसोबास रहेको छ । अधिकांश मगर समुदायको बसोबास भएको जिल्लामा सोरठी नाचको चर्चा हुनु नौलो कुरा होइन । यो यहाँको पुरानो र रोमाञ्चक संस्कृति मानिन्छ । सङ्ख्या त दिनप्रतिदिन घट्दै छ, तर पनि आजका दिनसम्म सोरठी नाच भने जिल्लामा चल्तीमै छ । यहाँका मगर समुदायमा सोरठी नाचको लागि गाइने गीतका कथा रामायण महाभारतसँग जोडिने गरेको भएपनि मुख्य कथा भने जयसिंह र सोरठीकै रहेको पाइन्छ । पहिले पहिले जिल्लाका अधिकांश मगर समुदायको बसोबास रहेको स्थानमा दशैँ, तिहार, मेला, पर्व, विवाह, व्रतबन्ध र छैटी आदिमा यो नाच प्रस्तुत हुन्थ्यो । तर, पछिल्ला पुस्तालाई भने सोरठीको स्वाद नै छैन भन्छन् यहाँका पाका नागरिक । युवापुस्ताले यो नाच सिक्न चाहेर पनि समय अभावले पुस्ता हस्तान्तरण हुन नसकेको सोरठी नाच संरक्षण समिति गलकोट नगरपालिका–१० पाण्डवखानीका अध्यक्ष लिल बहादुर काउचा मगर बताउँछन् ।

मगर समुदायको मान्यताअनुसार चोखो हृदय भएको मान्छे तीन ताल मादल बजाउँदा हल्लिन्छ र उसलाई थामथुम पारेर बसाल्नुपर्छ । त्यसपछि सोरठी शुरु हुन्छ । ‘लामो प्रक्रिया हुन्छ गरेरै सिक्नुपर्छ’ काउचा भन्छन्, ‘संस्कृति बिनाको समाज हुँदैन तर जोगाउन गाह्रो भयो ।’ जिल्लामा सोरठीको संरक्षण र प्रचारप्रसारका लागि केही सोरठी संरक्षण समिति बनेका छन् भने मगर समुदायले नै चलाएका घरबासमा सोरठी नृत्य देखाउने प्रयास भने भएका छन् । छोटो बनाउन र सजिलोका लागि अन्य कथाहरुको प्रयोग भए पनि त्यसमा समेत युवाको आकर्षण नरहेको समितिका अर्का सदस्य छमबहादुर काउचाको भनाइ छ । ‘अहिले गाउने र नाच्ने शिक्षक कर्मचारी मात्रै छौँ, अरु त विदेशमै छन्’ उनी भन्छन, ‘हाम्रो पालापछि कसले धानिदेला यो संस्कृति भन्ने लाग्दछ ।’

तर पछिल्लो समय सोरठी नाच्ने र नाच्नका लागि गाउँने गीत तथा कथा वाचन गर्ने जनशक्ति अभावमा यो नाँच लोपोन्मुख बन्दै गएको छ । चर्चा हुन्छ तर प्रस्तुति पहिलेकोे सोरठीको जस्तो हुँदैन । औपचारिक समारोमा प्रदर्शनीको रुपमा मात्रै यो नृत्य कहिलेकाहीँ देखिन्छ । युवाको विदेश मोह र बूढापाका गाउन र नाच्न नसक्ने हुँदै गएकाले सोरठी जोगाउनु चुनौतीपूर्ण बन्दै गएको काठेखोला गाउँपालिकाका खेलकूद तथा सांस्कृतिक समितिका संयोजक टीका सङ्गम विकले बताए । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतिर पाइने वनस्पति केतुकीको कपाल, चुरापोते, टीका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ । सोरठीका विभिन्न चरण हुन्छन् । सोरठी नाचमा दैवीय शक्ति छ भन्ने पनि विश्वास रहिआएको छ ।

समाजमा सानो, ठूलो, जातभात, धनी गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको संरक्षण अभियान्ताहरु बताउँछन् । सोरठी साविकको धौलागिरिका म्याग्दी, बागलुङ र पर्वतमा निकै लोकप्रिय नाच हो । म्याग्दीमा सोरीकै झल्को दिने अरु नाच पनि नाचिन्छ । ‘हामीले संस्कृतिको पुस्ता हस्तान्तरण गर्न सकिरहेका छैनौँ’, उनले भने, ‘युवाको आकर्षण संस्कृतिमा भन्दा विदेशमा धेरै छ, लामो समय खर्चेर सिक्ने उनीहरुसँग समय छैन ।’ सोरठी रातैभरी नाच्दासमेत सकिँदैन । मुख्यतया बागलुङका मगर समुदायले नाच्ने सोरठी जयसिंह राजा र सोरठी रानीको कथामा आधारित छ । ‘यो कथाको व्याख्या गर्ने र गाउनेको अभाव छ’ काउचाले भन्नुभयो ‘‘कथानै नबुझी कसरी नाचुन् ।’

गल्कोट नगरपालिका–१० पाण्डबखानीमा रहेको सिद्धथान सामुदायिक घरबास लगायतका घरबासमा अतिथिको सत्कारमा सोरठी नाच्ने गरिएको छ । यो गाउने र नाच्नेलाई दान दिने र सोही दानले कलाकारले खर्च चलाउने चलन परापूर्वकालमा रहेको बताइन्छ । सोरठी संकटमा पर्न थालेपछि मगर समुदायले संरक्षणका लागि राज्यको साथ खोजेका छन् । ‘हाम्रो संस्कृति हो राज्यको सम्पत्ति सबै मिलेर यसलाई जोगाउनु पर्छ’ यहाँका मगर समुदायका अगुवाको भनाइ छ । सोरठीको संरक्षणका लागि यहाँका स्थानीय चासो भने देखाएका छन् । केही दिन पहिला जिल्लाको काठेखोला गाउँपालिकाले प्रतियोगिता नै आयोजना गरेर सोरठी प्रदर्शन ग¥यो । ‘२० मिनेटको समयमा सबै सोरठीको रस त आउँदैन तैपनी संरक्षणको लागि कोशेढुङ्गा बन्न सक्छ’ गाउँपालिका अध्यक्ष अमर थापाले भने ‘दायित्वबोध गरेका छौँ ।’

बागलुङ नगरपालिकाले आयोजना गरेको दोस्रो मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन सत्रमा पनि यो नाच प्रदर्शन गरिएको थियो भने बागलुङ महोत्सवमा पनि मगर समुदायसँग सम्बन्धित सङ्गठनले छोटो प्रस्तुति दिए । सोरठीमा दुई जना मारुनी र एक जना पुरुसुङे हुन्छन् । केटा मान्छे नै केटीको पहिरनमा मारुनी बनेका हुन्छन् । यस्तै यस नाचमा तीन जना मादले हुन्छन् । त्योबाहेक कथा बाचन गर्ने गुरु र अरु नाच्ने र गाउँने कलाकार हुन्छन् । स्थानीयस्तरमा विशेषगरी जनजाति समुदायको बसोबास भएका गाउँहरुमा समूह बनाएर यस्ता संकृतिको संरक्षण गर्ने अभियान चलेको भए पनि स्थानीय सरकारको तहबाटनै संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने काठेखोलाका टिका संगम विक बताउँछन् । नयाँ कलाकारलाई तालिम तथा प्रशिक्षण र प्रोत्साहनको व्यवस्था गर्नसके सांकृतिक नाच सोरठीको संरक्षण हुने अगुवाको भनाइ छ ।

जिल्लामा सोरठी कहिलेदेखि गाउँन थालियो भन्ने ठ्याक्कै तिथि मिति छैन । यहाँ मगर समुदायको बसोबास सुरु भएदेखिनै सोरठी शुरु भएको धम्जा सोरठी समूहका संयोजक रेमन छन्तयाल बताउँछन् । ‘बाउ बजेका पालादेखि चलेको चलन भन्दै हामीले पनि नाच्दै आइयो’ छन्त्यालले भने, ‘कहाँ कहिलेबाट शुरु भयो भन्ने थाहा छैन, त्यस विषयमा प्राज्ञिक खोजी गर्नु जरुरी छ ।’ कुनै प्रशिक्षण र तालीमभन्दा पनि पाका पुरानाका किम्वदन्तीको आधारमा सोरठी चलिरहेको छ । अधिकांश मगर समुदायको बसोबास रहेको बागलुङका सबैजसो ठाउँमा सोरठी नृत्यको अस्थित्व छ । जिल्लाको काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला तथा निसीखोला गाउँपालिका, जैमिनी नगर पालिका र बरेङ गाउँपालिकाका अधिकांश मगर बस्तीमा यो नाच नाचिन्छ । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाका केही वडामा समेत सोरठी छ ।

सोरठीमा गाउने र नाच्ने गरी कम्तीमा १२ जना कलाकार आवश्यक पर्ने संयोजक छन्त्यालले बताए । कलाकारमा गाउने समूह, मादले, मारुनी, पुरुसुङ्गे आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट मूल गायकको निर्देशनअनुसार अन्य कलाकारले गायनमा साथ दिने गर्छन् । सोरठीगीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । सोरठी परम्पराकालदेखि नै गाइने र नाचिने संस्कृति भए पनि पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन सकेको छैन । संरक्षणको अभावमा सोरठीको मौलिक संगीत र लयको ज्ञान हराउने चिन्ता बढेको संस्कृतिकर्मीहरु बताउँछन् ।

बागलुङका अधिकांश स्थानमा सोरी गाइने भए पनि यस विषयमा कुनै अभिलेख छैन । पुराना पुस्ताका नागरिकले गाउने गीत गाउने र सोरठी नाच्ने गरेका भए पनि के कति सङ्ख्यामा कलाकार छन् भन्ने समेत तथ्याङ्क नरहेको छन्त्याल बताउँछन् । यहाँका गाउँ अनुसारको सोरठीको कथा र भाकासमेत फरक रहेकाले पनि तथ्याङ्क यकिन गर्न कठिन रहेको उनको भनाइ छ । सङ्गठित नभएको र सरोकारवालाले चासो नदेखाएका कारण तथ्याङ्कमा कमजोर हुनु परेको उनको भनाइ छ । बेलाबेलामा समारोहमा देखिने सोरठी समूहको गणना गर्दा पनि एक दर्जनभन्दा बढी समूह र १५० भन्दा धेरै कलाकार रहेका धम्जाका युवा दिलबहादुर थापाको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed