Breaking News.... EverestOnlineKhabar
April 19, 2026

म्यादी प्रहरीलाई मालामाल, म्याद थपसँगै निर्वाचन सुरक्षा खर्च बढ्यो

Loading

काठमाडौ,१८ जेठ ।
म्यादी प्रहरीको म्याद दोस्रोपटक थपिने भएको छ । स्थानीय तहको निर्वाचन सुरक्षानिम्ति ५५ दिन सेवाअवधि तोकेर भर्ना गरिएका म्यादी प्रहरीको म्याद दोस्रो चरणको निर्वाचनका लागि भन्दै २० दिन थपिएको थियो । उक्त मिति सरेपछि म्यादीको म्याद पनि फेरि बढाउन लागिएको हो ।
निर्वाचन आयोगले असार १४ मा दोस्रो चरणको चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । गृह मन्त्रालयले यसअघि जेठ १५ मा २० दिन म्याद थपेको थियो । निर्वाचन कार्यतालिका पछाडि सारिएकाले म्यादी प्रहरीको म्याद पुनः थप्नुपर्ने अवस्था आएको हो ।
गृह प्रवक्ता बालकृष्ण पन्थीले म्यादी प्रहरीको म्याद थपिने बताए । मन्त्रालयअन्तर्गतको अन्तरनिकाय निर्वाचन कमिटीले म्यादीको म्याद थप्न छिट्टै बैठक डाक्ने जानकारी प्रवक्ता पन्थीले दिए । गृहले पहिलो चरणको निर्वाचनमा २२ हजार ६ सय २ म्यादी प्रहरी खटाएको थियो । यसपाली भने स्थानीय तह धेरै रहेको र संवेदनशील स्थानको संख्या पनि धेरै भएको भन्दै गृहले भर्ना भएका सबै ७० हजार म्यादी प्रहरी परिचालन गर्न लागिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले गृह मन्त्रालयसँग समन्वयमा म्यादी प्रहरीको म्याद थपबारे विचार गरिने बताए । नेपाल प्रहरीले निर्वाचन हुने स्थानीय तहमा म्यादी प्रहरीलाई खटाइरहेको छ । खनालका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयनमा म्यादी प्रहरी खटिइरहेका छन् ।
निर्वाचनको पछिल्लो मिति तोकिएसँगै चुनावी खर्च पनि बढ्ने गृहको आाकलन छ । प्रवक्ता पन्थीले निर्वाचन मिति धकेलिंदा सुरक्षा, भत्ता, रसदपानीमा अतिरिक्त खर्च हुने बताए ।  मन्त्रालयमा मंगलबार गृह सचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको बैठक बसेको थियो । बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको थियो । प्रवक्ता पन्थीले निर्वाचन सुरक्षाका चुनौतीबारे बैठकमा छलफल भएको बताउँदै उनले निर्वाचन हुने स्थानबाट नियमित सूचना लिने र विश्लेषण गर्ने काम भईरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed