Breaking News.... EverestOnlineKhabar
April 19, 2026

राजपा आफ्नो पूर्ववत् अडानमा कायमै, ऐन संशोधनमा तीन दल लचिलो

Loading

काठमाडौ,१४ जेठ ।
प्रमुख राजनीतिक दलहरू दोस्रो चरणको स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सहभागी गराउन ऐन संशोधनको लागि लचिलो देखिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र निर्वाचन ऐन संशोधन गरेर राजपालाई दल दर्ता, नमुना हस्ताक्षर बुझाउने समय दिन लचिलो देखिएका हुन्। बैठकमा राजपाका नेताहरू पनि सहभागी थिए।
ऐन संशोधनमा ठूला तीन दल लचिलो देखिए पनि राजपा नेताहरूले संविधान संशोधन र स्थानीय तह संख्या थप गर्नुपर्ने अडान दोहार्‍याए। राजपा नेताहरूको अडानपछि साँझ छुट्टै बसेको तीन ठूला दलको बैठक ठोस निष्कर्षमा पुग्न सकेन।
चारै पक्ष आन्तरिक छलफल गरी आइतबार पुनः बस्नेगरी बालुवाटार बैठक सकिएको छ। बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले राजपालाई निर्वाचनमा सहभागी कसरी गराउन सकिन्छ भन्ने विषयमा छलफल भए पनि सहमतिमा पुगिनसकेको बताए। राजपाका नेताहरूले संविधान संशोधन, स्थानीय तह संख्या थप, चुनाव चिह्न प्रदान, मधेस आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र मुद्दा फिर्ताको माग सम्बोधन हुनुपर्ने अडान राखेको पौडेलले जानकारी दिए।
बैठकमा निर्वाचनसम्बन्धी ऐन संशोधन गरेर राजपालाई चुनावमा सहभागी गराउन सहज वातावरण बनाउने र त्यसका लागि केही दिन चुनाव मिति सार्ने विषयमा छलफल भएको थियो।
बालुवाटारमा प्रमुख दलको बैठक बस्नुअघि कांग्रेस र राजपा नेताहरूबीच छलफल भएको थियो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा पनि राजपा नेताहरूले निर्वाचनमा सहभागी हुन आफ्ना केही माग सम्बोधन हुनुपर्ने अडान दोहोर्‍याएका थिए।
निर्वाचनमा सहभागी हुन स्थानीय तह संख्या थप, आफ्ना नेता तथा कार्यकर्तामाथिका मुद्दा फिर्ता र दल दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने सर्त उनीहरूले कांग्रेससँग राखेका थिए। राजपा नेता राजेन्द्र महतोले निर्वाचनमा जाने वातावरण अझैं बन्न नसकेको बताए। उनले निर्वाचनको वातावरण बनाउन संविधान संशोधन, जनसंख्या आधारमा गाउँरनगरपालिकाको संख्या थप, राजपाका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने र दल दर्ता गर्न दिनुुपर्ने बताए। स्थानीय तह संख्या कति थप गर्ने भन्ने सरकारको विषय भएको पनि उनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed