![]()
मनिला,१० जेठ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण मिन्डानाओ प्रान्तमा सैन्य शासन लागू गरेका छन् । मिन्डानाओमा सेना र विद्रोहीबीच संघर्ष चलिरहे पछि राष्ट्रपतिले सैन्य शासन लागू गरेका हुन् । पछिल्लो संघर्षमा सुरक्षा बलका तीन सदस्यको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सैन्य शासन २ महिनासम्म लागू हुने छ । सैन्य शासन लागू भएपछि कुनै पनि आरोप विनै सेनाले कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्न पाउने छ । मिन्डनाओमा मुस्लिम विद्रोही संगठनले स्वायत्तताको माग गर्दै आन्दोलन गरिरहेको छ । सेनाले भने केही विद्रोही समूहले चरमपन्थी संगठन इस्लामिक स्टेटको सहयोग लिएको दाबी गरेको छ ।
विद्रोहीलाई पक्राउ गर्ने क्रममा सेनासँग पटकपटक झडप हुने गरेको छ । सेनाले अहिले त्यहाँका विद्रोहीलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । फिलिपिन्सका रक्षा मन्त्री डेल्फिन लोरेञ्जले पछिल्लो समयमा विद्रोहीले एक अस्पताल र एक कारागारलाई कब्जामा लिएको र एउटा चर्चमा समेत आगोलगाएपछि सैन्य शासन लागू गर्नुपरेको जिकिर गरेका छन् ।


