![]()
मुजफ्फरनगर (उत्तरप्रदेश) ।
मानवतालाई नै कलङ्कित पार्ने एउटा भयानक र कारुणिक घटना छिमेकी देश भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा सार्वजनिक भएको छ । मुजफ्फरनगरको मडी गाउँमा सञ्चालित एक ‘टु-पट्टल’ (पातको टपरी र दुना बनाउने) कारखानाभित्र नेपाल, बिहार र राजस्थानका १३ जना गरिब मजदुरहरूलाई महिनौंदेखि बन्धक बनाएर पशुलाई भन्दा पनि क्रूर र अमानवीय व्यवहार गरिएको खुलासा भएको छ।
प्रहरीले छापा मारी बन्धक बनाइएका ती निरीह मजदुरहरूलाई नरकीय जीवनबाट मुक्त त गराएको छ, तर उनीहरूमाथि गरिएको अत्याचारको कथा सुन्दा जोकोहीको पनि आङ सिरिङ्ग हुन्छ।
भोकै पेटमा कोर्रा र बेल्टको प्रहार: कानका जाली समेत फुटे
उद्धार गरिएका मजदुरहरूका अनुसार उनीहरूलाई दिन-रात नभनी चौबीसै घण्टा काममा जोताइन्थ्यो। सुत्न र आराम गर्न त परकै कुरा, सामान्य मानव अधिकारबाट समेत उनीहरू वञ्चित थिए। भोकभोकै रहेका उनीहरूलाई पेट पाल्नका लागि मात्र सुक्खा रोटी र नुन दिइने गरिन्थ्यो।
यदि कसैले यस अत्याचारको विरुद्ध आवाज उठाउन खोजेमा वा थकाइ लागेर काम रोकेमा कारखानामा राखिएका शिकारी भाला, कोर्रा र बेल्टले निर्घात कुटपिट गरिन्थ्यो। मजदुरहरूका अनुसार टाउको र कानमा यति धेरै प्रहार गरिएको छ कि अधिकांश मजदुरहरूले अहिले राम्रोसँग सुन्न समेत सक्दैनन्। कारखानाबाट भाग्ने प्रयास गर्नेहरूमाथि हिंस्रक ‘पिटबुल’ कुकुरहरू छोडेर टोकाउने र त्रसित पार्ने गरिएको दर्दनाक तथ्य बाहिर आएको छ।
मुख्य आरोपी फरार: बुबा र सुपरभाइजर पक्राउ
यस क्रूरताका मुख्य योजनाकार तथा कारखानाका मालिक अंकित बालियान हुन्, जो अहिले प्रहरीको डरले फरार छन्। तर, प्रहरीले उद्योगभित्रै मजदुरहरूलाई यातना दिने कार्यमा संलग्न रहेका अंकितका बुबा प्रमोद बालियान र कारखानाका सुपरभाइजर शिव त्यागीलाई पक्राउ गरेको छ।
पक्राउ परेका प्रमोद र फरार अंकितको परिवार स्थानीय स्तरमा निकै पहुँचवाला र आर्थिक रूपमा सम्पन्न मानिन्छ। उनीहरूको नाममा झण्डै ९० बिघा जमिन, ठूलो कारखाना हुनुका साथै आरोपी अंकितकी आमा पूर्व ग्राम प्रधान (गाउँ प्रमुख) समेत रहेको बुझिएको छ। यही शक्तिको आडमा उनीहरूले गरिब र असहाय मजदुरहरूमाथि यस्तो जघन्य अपराध गरिरहेका थिए।
३०–३० हजार राहत, सम्पत्ति जफत गरी पीडितलाई दिन माग
प्रहरी प्रशासनले बन्धकमुक्त गराएका नेपाल, बिहार र राजस्थानका १३ जना पीडित मजदुरहरूलाई तत्कालका लागि जनही ३०–३० हजार भारतीय रुपैयाँ राहत स्वरूप उपलब्ध गराएको छ।
यद्यपि, यो पीडा र यातनाको अगाडि उक्त रकम निकै न्यून रहेको भन्दै सर्वसाधारण र मानवअधिकारवादीहरूले आक्रोश व्यक्त गरेका छन्। पीडित मजदुरहरूलाई न्याय दिलाउन र यस्ता ‘नरपशु’ हरूलाई कडाभन्दा कडा सजाय दिन माग भइरहेको छ। सामाजिक सञ्जाल र स्थानीय स्तरमा दोषीहरूको सम्पूर्ण सम्पत्ति जफत गरेर पीडित मजदुरहरूलाई क्षतिपूर्तिका रूपमा वितरण गरिनुपर्ने जोडदार माग उठ्न थालेको छ।
एक फरार आरोपीको खोजी र घटनाको थप अनुसन्धानमा स्थानीय प्रहरी जुटिरहेको छ।

