![]()
२०७६ पुस २७, काठमाडौं । मादक पदार्थ सेवन गरी टिप्पर चलाउने एकजना चालक पक्राउ परेका छन् । मापसे गरी टिप्पर चलाएको देखिएपछि कारबाही गर्ने क्रममा प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने टिप्पर चालक प्रेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घर्तीले शनिबार साँझ मदिरा सेवन गरी ना ८ ख ४३३७ नम्बरको टिप्पर चलाएका थिए ।
भक्तपुरको सूर्यविनायक–९ नलिनचोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच पछि कारबाही गर्न खोज्दा उनले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए । प्रहरीले टिप्पर चालक घर्तीले घुस दिन खोजेको १ हजार रुपैयाँसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यस्तै, भक्तपुरमै मदिरा सेवन गरी मोटरसाइकल चलाउने अर्का चालक पनि पक्राउ परेका छन् । मदिरा सेवन गरी बा ३७ प १२०६ नम्बरको मोटरसाइकल चलाइरहेका भारत घर भइ भक्तपुरको बोडे बस्ने २६ वर्षीय मोहम्मद दिल्दारमियालाई प्रहरीले पक्राउ गरेको हो । सवारी चेकिङका क्रममा प्रहरीले कारबाही गर्न खोजेपछि हिल्दारमियाले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए ।


