![]()
काठमाडौँ । मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा ‘ब्युटी विद पर्पस’ र ‘मल्टी मिडिया’ क्याटेगोरीमा उनले १ सय १७ सुन्दरीलाई पछि पारेकी हुन् ।
‘ब्युटी विद पर्पस’ का लागि हरेक प्रतिस्पर्धीले कुनै प्रभावकारी परियोजनामा काम गर्नुपर्ने हुन्छ । शृंखलाले गृहजिल्ला मकवानपुरमा रहेको चेपाङ बस्तीमा एउटा स्वास्थ्यचौकी र अन्य भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेकी थिइन् ।
उनको यही परियोजनाले उनलाई उक्त अवार्ड जिताएको हो । यसअघि सन् २०१३ मा नेपालकै ईशानी श्रेष्ठको ‘प्रोजेक्ट स्माइल’ ले ‘ब्युटी विद पर्पस’ जितेको थियो ।
मोब्स्टार नामक मोबाइल एप्लिकेसनमार्फत दिनहुँ लाखौँ भोट पाएका कारण ‘मल्टी मिडिया’ को अवार्ड पनि उनकै पोल्टामा परेको हो । उनलाई भोट गर्न अत्यधिक डाउनलोड गरिएको हँुदा यो एप्लिकेसन गत साता नेपालमा पहिलो नम्बरमा ट्रेन्डिङमा थियो ।


