![]()
नुवाकोट । नुवाकोटको ककनीमा भेला भएकका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीका शीर्ष नेताहरुलाई आशन्न महाधिवेशनमा एकमत भएर जानका लागि दबाब सिर्जना गर्ने बताएका छन् । पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिने उद्देश्यले उनीहरु एकमत भएर जाने प्रयासका साथ अघि बढेको देखिएका हुन् ।
पार्टीका शीर्ष नेतृत्वलाई एक ढिक्का हुनका लागि सन्देश दिन आफूहरु प्रयासरत रहेको बैठकमा सहभागी जिल्ला सभापतिहरुले बताएका छन् । बैठकमा सहभागी सभापतिहरुले दिएका सुझाव संकलन गरेर एकीकृत मस्यौदा तयार पार्न १७ सदस्यीय समिति बनाइएको छ । समितिमा प्रत्येक प्रदेशबाट दुई–दुई जना र दुई महिला सभापति रहेका छन् ।
जिल्ला सभापतिहरुबाट आएका सुझाव समेटेर पार्टीलाई एक ढिक्का बनाएर महासमितिमा जान दबाब दिनका लागि आफूहरु गुटगत स्वार्थभन्दा माथि उठेर छलफलमा जुटेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीको भनाइ छ ।
ककनीमा जारी बैठकमा सहभागी जिल्ला सभापतिहरुले विधान संशोधन मस्यौदा समितिले पार्टीलाई बुझाएको मस्यौदामा केही विषय स्पष्ट नभएको भन्दै आपत्ति जनाएका छन् । पार्टीको सबै तहमा मर्यादाक्रम लथालिङ्ग भएकाले विधानमै स्पष्ट गरेर मर्यादा क्रम राखिनुपर्ने जिल्ला सभापतिहरुको धारणा देखिएको छ ।
जिल्ला सभापतिहरुले निर्वाचनमा उमेदवार छनोटको अधिकार पनि विधानमै स्पष्ट पारिनुपर्ने बताएका छन् । विधानमा कसको काम–कर्तव्य के हुने भन्ने स्पष्ट व्यवस्था नहुँदा पार्टीमा योगदान गरेका धेरै व्यक्तिहरु जिम्मेवारविहीन भएकाले उनीहरुलाई पनि जिम्मेवारी दिन विधानमा नै स्पष्ट गरिनुपर्ने जिल्ला सभापतिहरुको धारणा छ ।


