Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको जारी अन्लाइन भोटिङमा मिस नेपाल शृङ्खला खतिवडा धेरै मत ल्याउने प्रतिस्पर्धी हुन्।  तर नेकपाका एक सांसदकी छोरी उनले मिस नेपालको प्रतिस्पर्धामा सहभागि हुन संघर्ष गर्नु परेको थियो।  सुरुमा त उनलाई आफ्नो बुवासँग अनुमति लिन नै कठिन परेको थियो।

राजनीतिक पृष्ठभूमि

उनको चर्चाको एउटा पाटो राजनीतिक पृष्ठभूमिको परिवारबाट हुनु पनि हो। विगतमा मिस नेपाल प्रतियोगिताको विरोधमा उत्रिने गरेको माओवादीसँग एकता गरेको तत्कालीन एमाले र अहिले नेकपाका सांसद विरोध खतिवडा र तत्कालीन नेकपा (एमाले)की मकवानपुर जिल्ला अध्यक्ष भइसकेकी प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् शृङ्खला।

उनको निम्ति मिस नेपाल प्रतियोगिताको ढोका खोल्न आफूले सघाएको आमा मुनुले खुलाइन्। “सुरुमा उसको बुवाले मान्नु भएको थिएन। खासमा शृङ्खलाले पहिले मसँग कुरा राखेकी बेला मलाई पनि यो हाम्रो क्षेत्र होइन नै भन्ने लागेको थियो। तर उसले मिस नेपालमा गएर आफ्नो प्रतिभा देखाउने र त्यसमा पाएको ख्यातिले समाज सेवा गर्ने कुरा गरेपछि अनुमति दिन मैले पनि बुवालाई सम्झाएँ। त्यस अघि मैले मेरा पार्टीका सहकर्मीहरुसँग यस बारेमा छलफल गरेकी थिएँ।”

प्रशंसा

शृङ्खलाले सानैदेखि मिस नेपालमा भाग लिने कुरा गर्ने गरेको तर त्यसलाई छोरीले ठट्टा गरेको उनले भन्ठानेको उनको आमाले बताइन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले पनि शृङ्खलाको बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। शंकर पोखरेलले र योगेश भट्टराईले शृङ्खलाको परिचयात्मक भिडिओ ट्विट गरेका छन्।

सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिस्पर्धी गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ।

सामाजिक सञ्जाल

कतियले सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दावी गरेका छन्। तर मिस वर्ल्डको प्रतिस्पर्धा नेपालीको निम्ति चुनौतिपूर्ण हुने गरेको पूर्व मिस नेपालहरूको बुझाइ छ।

तिनै मध्येकी एक माल्भिका सुब्बा भन्छिन्, “पहिलो त नेपाल देश आर्थिक रूपमा बलियो छैन। त्यसैले जत्तिकै प्रतिभाशाली प्रतिस्पर्धीहरू पठाए पनि उनीहरूलाई गाह्रै हुन्छ। त्यस बाहेक उनीहरूले उपयुक्त तालिम पाएका हुँदैनन् र त्यहाँ विभिन्न निमयहरू हुन्छन् जसलाई हामीले कहिलेकाहिँ पूरा गर्न नसकेका पनि छौं। यस्ता कुराले धेरै फरक पार्छ।”

शृङ्खलाकी आमा मुनु सिग्देलका अनुसार परिवारिक वातावरणले छोरीमा नेतृत्वदायी क्षमता अभिवृद्धि गरेको छ। त्यसले उक्त प्रतिस्पर्धामा पनि राम्रै मद्दत पुग्ने उनको आशा छ।

उनी भन्छिन्, “उसले सानैदेखि राजनीतिक नेतामा हुनु पर्ने गुण देखाएकि छ। सानैदेखि उसले चित्त नबुझेको कुरा पार्टीका नेताहरूसँग स्पष्ट भन्ने गर्थी। राजनीतिक परिवारकी छोरी भएकोले उसमा सानैदेखि छिट्टै घुलमिल हुन सक्ने र सही र गलत छुट्याउने स्वभाव छ। मिस वर्ल्डमा पनि उसको व्यवहार र प्रस्तुतिले हेर्दा पनि उसले राम्रो गर्छ भन्नेमा म ढुक्क छु।”

जारी प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न उत्कृष्ट मोडलको प्रतिस्पर्धामा शृङ्खला शीर्ष ३० मा परेकी थिइन्। अब हुन बाँकी मल्टिमिडिया, ब्युटी विथ पर्पोज र अन्य उपाधिका लागि आफूले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको उनले लेखेकी छन्।

प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुनेछ जसमा १२० देशका सुन्दरीहरू प्रतिस्पर्धा गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed