Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । यमनमा हूथी विद्रोही र साउदी अरेबिया नेतृत्वको गठबन्धन फौज दुवै पक्ष आक्रमण रोक्न सहमत भए पनि हुदैदा बन्दरगाह शहरमा पुनः लडाइँ शुरू भएको छ। विद्रोही र सरकार समर्थक फौजबीच भिडन्तहरू भएपछि गठबन्धन फौजका लडाकू विमानहरूले फेरि बमबारी शुरू गरेका छन्।

संयुक्त राष्ट्रसंघले साढे तीन वर्षदेखिको द्वन्द्व अन्त्य गराउनका निम्ति पुनः वार्ता शुरू गराउने प्रयास गरिरहेको छ। विद्रोही नियन्त्रित हुदैदाको बाहिरी भेगमा पनि सोमवार बमबारीको आवाज सुन्न सकिन्थ्यो। समाचार संस्था एएफपीका अनुसार गठबन्धन फौजले विद्रोहीहरूका रणनीतिक स्थानका शृङ्खलाबद्ध हवाई हमला शुरू गरेको छ।

यसअघि हूथी विद्रोहीको सुप्रिम रिभोल्युशनरी कमिटीका प्रमुख मोहम्मद अलि अल-हूथीले संयुक्त राष्ट्रसंघको आग्रहपछि गठबन्धन फौजमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण रोक्न लागेको एउटा विज्ञप्तिमार्फत् जनाएका थिए। विज्ञप्तिमा भनिएको थियो- यदि साउदी नेतृत्वको गठबन्धन फौज “बृहत्तर युद्धविराम” चाहन्छ भने हामी त्यसका लागि अघि बढ्न तयार छौँ।

गत हप्ता साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सले हुदैदा बन्दरगाह शहरमा आक्रमण रोक्न गठबन्धन फौजलाई आदेश दिएका थिए। संयुक्त राष्ट्रसंघको पहलमा हुने वार्तालाई आफूहरूले समर्थन गर्ने पनि उनीहरूले बताएका थिए।

यमनका लागि राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिट्सले यो वर्षको अन्त्यसम्ममा शान्ति वार्ता हुने आफ्नो विश्वास रहेको बताएका छन्। शुक्रवार उनले यमनमा द्वन्द्वरत दुवै पक्षले शान्ति वार्तामा सामेल हुने “ठोस आश्वासन” दिएको सुरक्षा परिषद्‌लाई बताए। आवश्यक परेको खण्डमा राजधानी सानादेखि हूथी विद्रोहीका प्रतिनिधिहरूलाई वार्तास्थलसम्म साथ दिने उनले प्रतिबद्धता पनि जनाए।

गत सेप्टम्बरमा बोलाइएको शान्ति वार्तामा चाहिँ हुथी विद्रोहीहरू सामेल भएनन्। हुदैदामा पछिल्लो पटक शुरू भएको हिंसाले चाहिँ जारी द्वन्द्व अन्त्य गराउने अन्तर्राष्ट्रिय प्रयत्नहरूलाई धक्का पुर्‍याउन सक्ने ठानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed