![]()
इलाम। पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरि सकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो ।
इलाम सदरमुकाममा आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै राष्ट्रिय सरकार भएको उल्लेख गर्नुभयो ।
नेकपाकै जिम्मेवार नेताले राष्ट्रिय सरकारको आवश्यकता रहेको छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा खनालले अहिलेको राजनीतिक संरचनामा अर्काे सर्वपक्षीय सरकार हुन नसक्ने बताउनुभयो । “अहिलेको राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु अपरिहार्य छ । त्यसैले राष्ट्रिय सरकार बन्न सक्दैन” खनालले भन्नुभयो, “अहिलेको सरकारले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको नभए पनि अहिलै यसको आलोचना तथा समालोचना गर्ने बेला भएको छैन ।”
केही दिनअघि नेकपाका नेता बामदेव गौतमले राष्ट्रिय सरकार गठन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । पार्टीमा समस्या देखिएको भन्ने पत्रकारको जिज्ञासामा वरिष्ठ नेता खनालले अबको केही दिनमै स्थायी समितिको बैठक बस्ने र त्यसबाट महत्वपूर्ण निर्णय गर्दै पार्टीका समस्या किनारा लगाइने बताउनुभयो ।


