![]()
एजेन्सी । अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा युरोपियन च्याम्पियन रियल मड्रिडले लगातार तेस्रो जित दर्ता गरेको छ । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत भिक्टोरिया प्लेजनलाई ५–० ले हराएको हो ।
अवे मैदानमा भएको खेलमा पहिलो हाफमा चार तथा दोस्रो हाफमा एक गोल गर्दै रियल मड्रिडले प्रभावशाली जित निकालेको हो । समूह जी अन्तर्गतको खेलमा रियलका लागि करिम बेन्जिमाले दुई तथा कासेमिरो, ग्यारेथ बेल र टोनी क्रसले एक एक गोल गरे ।
बेन्जिमाले २० र ३७, कासेमिरोले २३ तथा बेलले ४० औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । उसका लागि ६७ औँ मिनेटमा क्रसले थप एक गोल गरे र जित दिलाए ।
नयाँ प्रशिक्षक सोलारीले तीनै खेल जितेका छन् र गोल खाएका छैनन् । यी तीन खेलमा रियल मड्रिडले ११ गोल गरेको छ ।
जितपछि समूहको शीर्ष स्थानमा रहेको रियल मड्रिडको ९ अंक भएको छ । समूह कै अर्को खेलमा रोमाले सिएसकेए मस्कोलाई २–१ ले हरायो । रोमाको पनि ९ अंक नै छ र उ समूहको दोस्रो स्थानमा छ ।


