Breaking News.... EverestOnlineKhabar
May 3, 2026

इन्डोनेशिया: इन्स्टाग्राममा ‘बच्चा बेच्न राख्ने’ चार पक्राउ

Loading

बीबीसी । इन्डोनेशियामा सामाजिक सञ्जाल प्रयोग गरेर बच्चाको अवैध व्यापार गर्न खोजेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ। एउटा परिवार कल्याण संस्थाको नाममा खोलिएको इन्स्टाग्राम खातामा गर्भवती महिला, अल्ट्रासाउन्ड स्क्यान र बच्चाहरूको तस्बिर प्रेषित गरिएका थिए।

सुरबायाका प्रहरीका अनुसार ह्वाट्स्यापमार्फत् सम्पर्क गर्न भनेर सम्भावित ग्राहकलाई टेलिफोन नम्बर पनि उपलब्ध गराइएको थियो। प्रहरीका अनुसार बच्चा बेच्न लागेको एउटा घटना उनीहरूले हुन दिएनन् भने बेचिएको अर्को बच्चाको खोजी भइरहेको छ।

सुरबायाका प्रमुख गुप्तचर अधिकारीले एउटा स्थानीय सञ्चारमाध्यमलाई धर्मसन्तान पाल्ने इच्छा भएका व्यक्तिले त्यो खातामार्फत् सो समूहलाई सम्पर्क गर्ने र ह्वाट्स्यापबाट लेनदेनको सहमति हुने गरेको बताएका छन्।

सो समूहले इन्स्टाग्राममा आफूलाई पारिवारिक समस्या समाधान गर्न सेवा प्रदान गर्ने संस्थाका रूपमा चिनाएको डेटिक न्यूज वेब्साइटले जनाएको छ। सात सय फलोअर रहेको सो खातामा अनुहार धमिलो बनाइएका बच्चाका तस्बिरसँगै तिनको उमेर, स्थान र धर्मबारे जानकारी राखिएको छ।

बच्चा लेनदेनका लागि दुई पक्षबीच भएको भन्ठानिएको सम्वादका तस्बिर पनि प्रेषित गरिएको छ। एउटा तस्बिरमा एउटी महिलाले आफू सात महिनादेखि गर्भवती रहेको तर परिवारले यसबारे थाहा नपाओस् भन्ने चाहेको बेहोरा भएको सम्वाद पनि देखिन्छ।

अर्को पोस्टमा एउटी गर्भवती महिलाको तस्बिर र ठेगाना दिएर बच्चा पाल्न इच्छुक व्यक्तिले उनीसँग सम्पर्क गर्न भनिएको छ। तर बच्चा किन्ने र बेच्ने कुरा भने कतै उल्लेख गरेको भेटिँदैन।

पत्रकार सम्मेलन गरेर प्रहरीले गत सेप्टेम्बर ५ मा हुन लागेको बच्चा किनबेचको एउटा घटना रोक्दै चार जनालाई पक्राउ गरेको जनाएको थियो।प्रहरीका अनुसार एउटी २२ वर्षीया महिलाले आफ्नो ११ महिने बच्चा बेच्न खोजेकी थिइन्।

बच्चा किन्न खोज्ने मानिसले उनलाई एक करोड पचास लाख इन्डोनेशियाली रुपियाँ अर्थात् झन्डै ९८५ डलर, एउटा मध्यस्थकर्तालाई ५० लाख रुपियाँ र सो इन्स्टाग्राम खाता सञ्चालक भनिएका एक व्यक्तिलाई २५ लाख रुपियाँ दिनुपर्ने थियो।

सो कारोबारमा संलग्न भएका भनिएका चारै जनालाई पक्राउ गरिएको र बालसंरक्षण कानुन उल्लङ्घनको अभियोगमा उनीहरूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ।

इन्डोनिशियाको बालसंरक्षण आयोगकी उपाध्यक्ष रिता प्रानवतीले पहिला पनि बच्चा तस्करीको घटनाहरू भएका  बताएकी छन्। उनी भन्छिन्, “तर इन्स्टाग्रामबाट हुनु भनेको दुर्लभ हो। यो नयाँ शैली हो।”

किन्ने मान्छेको उद्देश्य स्पष्ट नभए पनि प्रानवतीका अनुसार पाल्ने रहर भएका मानिसले अवैध रूपमै भए पनि बच्चा लिन्छन्। तर कम उमेरमै यौनव्यवसायमा लगाउन पनि बच्चा पाल्ने गरिएका घटना पाइएको उनी बताउँछिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed