![]()
बीबीसी । विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त भएका छन् । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो ।
न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानाको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
न्यायाधीश क्याभानाले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसदको न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिएका थिए । तर क्याभानाले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आएका थिए ।
सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो ।


