![]()
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले प्रहरी प्रमुखको राजीनामा माग्दा प्रदर्शनकारीहरुले भने गृहमन्त्रीकै राजीनामा मागेका छन् ।
सिंहदबारभित्र गृहमन्त्रालयमा नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक (आईजी) सर्बेन्द्र खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाए भने सिंहदरबारबाहिर प्रदर्शनकारीले गृहमन्त्री थापाकै राजीनामा मागेका छन् ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको निम्ति न्याय माग गर्दै सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरिएको हो । घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री थापा र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् ।
विभिन्न पेशा तथा संस्था आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाएका थिए ।


