![]()
काठमाडौं। संसदको विकास तथा सम्बृद्धि समितिले सञ्चार मन्त्री गोकुल बास्कोटाको आक्रोश पछि सरकारलाई दिएको निर्देशन फेरेको छ। समितिको बैठकमा सञ्चारमन्त्री बास्कोटा उपस्थित भएका थिए।
समितिले कार्यसम्पादनका आधारमा नियुक्तीहरू गर्न सरकारलाई निर्देशन दिएको थियो। तर मन्त्री बाँस्कोटाले आफ्नो उक्त विषयमा आपत्ति भएको बताए। दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाका विषयमा विभिन्न टिकाटिप्पणी आएको भन्दै समितिले चासो राख्दा पनि मन्त्री बास्कोटा आक्रोशित भएका थिए।
समितिले पहिले तयार गरेको निर्देशन पत्रमा नेपाल टेलिकमको महानिर्देशक यथाशिघ्र नियुक्त गर्न सरकारलाई निर्देशन दिइएको थियो। तर मन्त्री आक्रोशित भएपछि उक्त बूँदा हटाइएको छ। उक्त बुँदामा बिटीएस टावरलाई सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ।
समितिकी सभापति कल्याणी खड्काले मन्त्रीको विरोधपछि संशोधन भएको निर्देशन पत्र पत्रकारहरूका सामु पढेर सुनाइन्। संसदीय मान्यताको विपरित गएर मन्त्रीले समितिमा विरोध जनाएका हुन्। संसद सरहकै मान्यता हुने गरी संसदले विभिन्न विषयगत समितिहरु गठन गरेको हुन्छ। सम्बन्धित मन्त्रालयका काम कारबाहीका विषयमा पनि सोही समिति नै चनाखो रहने व्यवस्था छ। तर मन्त्री बास्कोटाले संसदले दिएको निर्देशन नर्टेने गरी सभापति खड्कासँग हप्कीदप्की गरेका हुन्।
समितिले सञ्चार मन्त्रालायलाई प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्नका लागि इन्टरनेट पहिलो शर्त भएको भन्दै त्यसको व्यवस्था मिलाउन निर्देशन दिएको छ। सामाजिक सञ्जालको प्रयोगमा विकृति आएको भन्दै समितिले प्रभावकारी कार्ययोजना बनाइ कार्यान्वयन गर्न निर्देशन दिएको छ।


