Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ। अमेरिकी विदेश मन्त्रालयले युनाइटेड नेशन्स रिलिफ एण्ड वर्क्स एजेन्सी अन्रा ‘सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण’ रहेको जनाएको छ।

मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, “अमेरिकी प्रशासनले सो विषयलाई सावधानीपूर्वक समीक्षा गरेको छ र अन्रालाई अब थप योगदान पुर्‍याइने छैन।”

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले अमेरिकी कदम प्यालेस्टिनी जनतामाथिको ‘ठाडो आक्रमण’ भएको बताएका छन्।

नाबिल अबु रुदैनाले समाचार संस्था रोयटर्सलाई भने, “यस्तो दण्डात्मक कदमले यो क्षेत्रमा संयुक्त राज्यको भूमिका अब नरहेको र ऊ समाधानको एउटा हिस्सा नरहेको तथ्यलाई बदल्न सक्ने छैन।”

उनले अमेरिकी निर्णय राष्ट्रसंघीय संकल्प प्रस्तावहरूप्रतिको एउटा अवज्ञा भएको समेत बताए। अन्राका एकजना प्रवक्ता क्रिश गुनेजले शृङ्खलाबद्ध ट्वीटमार्फत् सो निकायको बचाउ गरेका छन्। उनले लेखेका छन्, “अन्राका विद्यालय, स्वास्थ्य केन्द्र र आपत्‌कालीन सहायता कार्यक्रमहरू सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण रहेको आरोपको सम्भावित सबैभन्दा कडा शब्दमा अस्वीकार गर्दछौँ।”

गत ज्यानुअरीमा अमेरिकाले अन्रालाई दिइने आधा जति रकम रोक्ने घोषणा गरेपछि पछिल्लो कदम चालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed