![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे भइरहेको अनुसन्धानका लागि आफू बयान दिन तयार रहेको बताएका छन्।
उनले न्याय मन्त्रालयका विशेष जाँचकर्ता रोबर्ट मलरबाट दुई देखि तीन साताभित्र सोधपुछ हुने अपेक्षा गरेको पनि बताएका छन् । ट्रम्पले अनुसन्धानका उच्च अधिकारीबाट गरिने सोधपुछका लागि शपथको मर्यादामा रहेर जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन् । पत्रकारहरूसँग ह्वाइट हाउसमा बोल्दै उनले चुनावका बेला कुनै साँठगाँठ र कुनै व्यवधान नभएको बताए । पत्रकारहरूले सोधपुछ कहिले होला भन्ने प्रश्न गर्दा उनले अनुसन्धान टोलीले दुई वा तीन साता लगाउनसक्ने बताए ।
ट्रम्पले चुनावमा आफ्नी प्रतिद्वन्द्वी रहेकी हिलरी क्लिन्टन आफ्नो इमेल प्रयोगबारे संघीय जाँच ब्यूरोले गरेको सोधपुछका लागि तयार नभएको पनि बताए । राष्ट्रपतिले संघीय जाँच ब्यूरोका कार्यवहाक निर्देशकलाइ उनले कसलाई मतदान गरे वा गरेनन् भन्नेबारे प्रश्न गरेको कुरा नसम्झने पनि बताए।
राष्ट्रपतिले पूर्व निर्देशक जेम्स कोमीलाई गत मे महिनामा बर्खास्त गरेपछि संघीय जाँच ब्यूरोको नेतृत्व गरेका एण्ड्र्यु मक्केबले ट्रम्पको कार्यालायको प्रश्न दिक्क लगाउने खालको भएको बताएका छन्।


