![]()
काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालहरूमा तीन सय भन्दी बढी विशेषज्ञ चिकित्सकको अभाव हुने जनाएको छ । गत वर्ष बढुवामा परेका करिब ८० जना विशेषज्ञ चिकित्सकहरू देशभरका सरकारी अस्पतालहरूमा खटिने समय आएकाबेला मन्त्रालयको यो भनाइ बाहिर आएको हो ।
बिभिन्न अस्पतालका समितिका अनुसार कार्यरत चिकित्सकहरू पनि लामो विदामा बस्ने गरेकालेसरकारी अस्पतालहरूमा सेवा खस्किँदै गएको छ ।
आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको ५० शैयाको इलाम जिल्ला अस्पतालमा अहिले स्त्रीरोग, बालरोग र दन्तरोग विशेषज्ञ मात्र कार्यरत छन् । त्यस्तै, झापा भद्रपुरको मेची अञ्चल अस्पतालमा २२ जनाको विशेषज्ञ चिकित्सकको दरवन्दी रहे पनि अहिले १० जना मात्र कार्यरत छन् । यी त उदाहरण मात्र हुन, राजधानी काठमाडौं लगायत मुलुकभरकै अवस्था यस्तो छ ।
देशभरका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सक अभावका कारण सुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनु परिरहेको सर्वसाधारणको गुनासो छ । देशभरका सरकारी अस्पतालहरूमा अहिले तीन सय भन्दा बढी विशेषज्ञ चिकित्सक अभाव रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
तर गत वर्ष बढुवामा परेका करिब ८० जना विशेषज्ञ चिकित्सक अस्पतालहरूमा अब खटिँदैछन् । केहीको अवकास भएको र केहीले छोडेका कारण चिकित्सक अभाव उस्तै हुने देखिन्छ ।
त्यतिमात्र होइन स्वास्थ्य मन्त्रलायले एमबिबिएस चिकित्सकसमेत अस्पतालहरूमा पठाउन सकेको छैन । स्वास्थ्य ऐन अनुसार लोकसेवाबाट विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न पाँच वर्ष काम गरेको अनुभव चाहिने गर्दछ ।


