![]()
काठमाडौ,पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न धेरै लामो समय लगाएका कारण नयाँ सरकार गठन प्रक्रिया ढिलो भएको आलोचनाबीच आफैँ अघि सरेर नयाँ सरकार गठन गर्ने विषयमा चासो देखाएकी छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तलाई शीतलनिवासमा भेटेर राष्ट्रपतिले नयाँ सरकार छिटो गठन गर्ने व्यवस्था मिलाउन आफ्नो धारणा प्रस्तुत गरेकी हुन् ।
जनादेशको कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मत परिणाम संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार समयमै सम्बन्धित निकायमा पेस गर्नु उपयुक्त हुने सुझाव पनि राष्ट्रपतिबाट निर्वाचन आयोगले प्राप्त गरेको छ ।
तर, निर्वाचन आयोगका तर्फबाट चुनावी मत परिणाम तत्कालै सार्वजनिक गर्न संवैधानिक एवं कानुनी अड्चन देखिएको भन्दै दलहरूबाट विकल्प खोजिनुपर्ने बताइएको थियो । संविधानमा रहेको संघीय संसद्को प्रावधान, एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बाध्यता र त्यससम्बन्धी संवैधानिक एवं कानुनी जटिलताका कारण प्रतिनिधि सभाको परिणाम आइसक्दा पनि आधिकारिकरूपमा सार्वजनिक गर्न नसकिएको प्रमुख आयुक्त यादवले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त नभइसकेको अवस्थामा प्रदेश सभाका सदस्यहरू निर्वाचित भएको विवरण बुझाउन तथा शपथग्रहण गराउने सम्बन्धमा पनि जिज्ञासा राखेको आयुक्त नरेन्द्र दाहालले जनाएका छन् । निर्वाचन आयोगको टोलीले प्रदेश प्रमुखलाई नै निर्वाचित उमेदवारको विवरण बुझाउने र शपथग्रहण गराउने भन्ने स्पष्ट व्यवस्था कानुनमा रहेको स्मरण पनि गराएका छन् ।


