![]()
काठमाडौ,पुस ।
सरकारले आजबाट ग्यास उद्योगहरुको अनुगमन गर्ने भएको छ । ग्यास उद्योगहरु मापदण्ड पूरा गर्न उदासीन देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारबाट अनुगमन गर्न लागेको हो । विभागले आजबाट ग्यास उद्योगको अनुगमन गर्न लागेको जानकारी दिँदै मापदण्ड मिचेको उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन एक वर्षअघि अनिवार्य गरिए पनि अधिकांशले लिएका छैनन् । ग्यास उद्योगहरुको सुरक्षामा ध्यान दिँदै प्लान्टमा हाइड्रोलिक मेसिनदेखि फायर फाइटिङ, दुर्घटनाबाट बच्ने सुरक्षा सामग्री हुनुपर्ने मापदण्डमा उल्लेख छ । तर व्यवसायीहरुले यसमा उदासीनता देखाउँदै आएका छन् । सिलिन्डर सरसफाइलगायतका विषयलाई पनि उद्योगहरुले महत्त्व नदिँदा दुर्घटना बढ्न थालेको छ । वीरगञ्जको सुपर ग्यास उद्योगमा गत पुस ५ गते मात्रै भीषणा आगलागी भएको थियो ।
हाल विभिन्न जिल्लामा ५५ ग्यास उद्योगहरु सञ्चालित छन् । विभागले यी उद्योगहरुलाई सार्वजनिक सूचना निकालेर पटकपटक ताकेता गर्दा समेत ४ वटाभन्दा बाहेकका उद्योगले अटेरी गर्दै गुणस्तर चिह्न लिएका छैनन् । विभागका अनुसार, मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि गुणस्तर चिह्न लिएका ग्यास उद्योग हुन् ।


