![]()
एजेन्सी । बेलायतको सञ्चार माध्यम इन्डिपेन्डेन्टले विश्वका टप एडिक्सन एक्सपर्टलाई उदृत गर्दै लेखेको छ, ‘बच्चाहरुलाई स्मार्टफोन चलाउन दिनु भनेको उनीहरुलाई एक ग्राम कोकिन दिनुजस्तै हो । बच्चाहरुलाई स्मार्टफोन कोकिन भन्दा खतरनाक हुन्छ ।’
अझ खतरनाक कुरा त के भने यस विषयमा अनुसन्धान गरेका अधिकांश चिकित्सकहरुले स्मार्टफोनले बच्चाहरुको भविष्य नष्ट गर्छ भन्ने निष्कर्ष निकालेका छन्।
‘बच्चालाई त्यसरी सजिलै टेक्नोलोजीको प्रयोग गर्न दिनु भनेको वाइन र कोकिन दिनु सरह हो। हामी जति ध्यान बच्चाहरुले ड्रग्सको प्रयोग गरेकोमा दिन्छौं त्यत्ति नै ध्यान बच्चाहरु टेक्नोलोजिप्रति एडिक्ट भएको खण्डमा पनि दिनुपर्छ,’ बेलायत स्थित रिहाब क्लिनिककी विशेषज्ञ मान्डी सालिगरिलाई उदृत गर्दै इन्डिपेन्डेन्टले लेखेको छ ।
अहिले १३ वर्ष भन्दा मुनिका बच्चाहरु धेरै डिजिटल टेक्नोलोजीसँग नजिक भएका छन्। जसले गर्दा उनीहरु आफ्ना अन्य क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन गर्न सक्दैनन्। अनुसन्धानकर्ताहरुले धेरै अभिभावकहरुले सोच्दै नसोचेको निष्कर्ष निकालेका छन्। जुन यथार्थ नेपाली अभिभावहरुको लागि कल्पना बाहिरको कुरा हो।
सालिगरिका अनुसार उमेर नपुगेका बच्चाहरु पोर्नोग्राफीक(यौन सम्बन्धी) फोटोहरु बढी आदान प्रदान गर्ने र एडल्डहरुले हेर्ने यौन भिडियोहरु हेर्ने गर्छन्। सालिगरिको क्लिनिकमा करिब १६ देखि २० वर्षका किशोर किशोरीहरु आफूलाई लागेको लत (एडिक्सन)को उपचार गराउँन आउँछन्। कहिलेकाहीँ त यो भन्दा पनि कम उमेरका बच्चाहरु उपचारको लागि आउने गरेको उनले बताएकी छिन्।
सालिगरिलाई उदृत गर्दै इन्डिपेन्डेन्टले लेखेको छ– ब्रिटेनमा भर्खरै १५ सय शिक्षकहरुमा सर्भे गरिएको थियो। जसअनुसार, दुई तिहाइ शिक्षकहरुले पाँच कक्षा भन्दा मुनिका विद्यार्थीहरुले यौनसँग सम्बन्धित कुरामा चासो बढाएकाले आफूहरु त्रसित बनेको बताएका थिए। पछिल्लो तीन वर्षमा दुई हजार भन्दा बढी बच्चाहरु सेक्ससँग सम्बन्धित तस्बिर एक अर्कासँग साटेको कारण पक्राउ परिसकेका छन्।
सालीगरिकोमा उपचारको लागि आउने १३ देखि १४ वर्षका कतिपय बच्चाहरु सेक्सटिङ (मेसेजमा सेक्सको कुरा गर्नु) लाई सामान्य मान्छन्। उनीहरुको अनुसार कसैलाई फोनमार्फत् नग्न तस्बिर पठाउनु सामान्य कुरा हो। तर, त्यो कुरा बाबुआमाले थाहा पाएपछि मात्र नराम्रो हुने ती बच्चाहरुको बुझाइ छ। बच्चाहरुलाई यदि आत्म सम्मान र पहिचानका कुरा सिकाउने हो भने यस्ता क्रियाकलापबाट जोगिन सक्ने सालिगरिलाई उदृत गर्दै इन्डेपेन्डेन्टले लेखेको छ।
‘स्मार्टफोनले बच्चाहरुलाई गर्ने असर यतिमा मात्र सीमित छैन्। इन्डिपेन्डेन्टले प्रकाशित गरेको सामाग्रीका अनुसार स्मार्टफोनले बच्चाहरुको सिक्ने क्षमता र आत्मअनुशासन कम हुन्छ। साथै बालबालिकाको मानसिक र सामाजिक विकासमा स्मार्टफोनको लतले असर गर्छ।
फ्यामली फिजिसियन डाक्टर लिम काइ हुङको अनुसन्धानले स्मार्टफोनको प्रयोगले बच्चाहरुलाई ५ वटा भन्दा बढी असर पर्ने देखाएको छ। आँखाको समस्या, घाटीको समस्या, औला तथा निकट भविष्यमा स्मार्टफोनको लतले बच्चाहरुलाई दीर्घरोगी बनाउने उनको अनुसन्धानको निष्कर्ष छ।
न्युयोर्क पोस्टले टप एडिक्सन एक्सपर्टहरुलाई उदृत गर्दै भनेको छ, ‘स्मार्टफोन चलाउने केटाकटीको दिमागको फ्रोन्टल कोर्टेक्समा नराम्रो असर पर्छ। फ्रोन्टल कोर्टेक्सले शरीर सञ्चालनको मुल तत्वलाई नियन्त्रण गर्ने गर्छ। आवेग नियन्त्रण गर्ने काम पनि फ्रोन्टल कर्टेक्सकै हो।’
न्युयोर्क पोस्टको उक्त लेखमा भनिएको छ, ‘स्मार्टफोन चलाउँदा केटाकेटीको फ्रोन्टल कर्टेक्समा जस्तो असर पर्छ, त्यस्तै असर कोकिन लिने मानिसको फ्रोन्टल कर्टेक्समा परेको हुन्छ। अर्थात, बालबालिकाका लागि स्मार्टफोनको अम्मल भनेको कुनै वयष्कका लागि कोकिनको अम्मलजस्तै हो।’
एडिक्सन एक्सपर्टहरुले स्मार्टफोनलाई ‘डिजिटल ड्रग्स’को उपनाम दिएका छन ्। डोपामाइन हार्मोनले मानिसहरुलाई आनन्द महसुस गराउँछ। स्माटफोन चलाउँदै गर्दा बालबालिकाको शरीरमा डोपामाइन हार्मोन उत्सर्जन ह्वात्तै बढेको हुन्छ। सोही कारण बालबालिकाहरु मोबाइलमा झ्याम्मिन्छन्। मोबाइल खोस्दा झर्किने र रिसाउने हुन्छन्।


