![]()
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पराजयको बिषयलाई लिएर पार्टी भित्र आफनो आलोचना बढेपछि सबैलाई एकमुष्ठ जवाफ दिने तयारी गर्नुभएको छ ।
पार्टीमा एकथरी नेताहरुले आफनो राजीनामासमेत माग्न थालेपछि सभापति देउवाले महासमिति बैठकबाटै सबैलाई चित्त बुझाउने प्रयास थाल्नु भएको हो । यसका लागि छिटो भन्दा छिटो महासमिति बैठक बोलाउन उहाँ गृहकार्यमा जुटनु भएको छ ।
यसअघि कांग्रेसका युवा नेताहरुले लिखित रुपमै महासमिति बैठक बोलाएर पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेका थिए । कांग्रेसका युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, बद्री पाण्डेय, प्रदीप पौडेल र गुरुराज घिमिरेले केही दिनअघि लिखित रुपमै चुनावको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग राखेका थिए । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीको नेतृत्वकै कारण पराजय भोग्नुपरेको दाबी गर्दै आएका छन ।
महासमिति बैठकको तयारीका लागि प्रधानमन्त्री देउवाले बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि छलफल गरेका छन ।
कांग्रेसका युवा नेताहरुले नेतृत्वले राजीनामा दिएर नेतृत्व पुस्ता हस्तान्तरण गर्नुपर्ने बताइरहे पनि संस्थापन पक्ष भने राजीनामा दिनु नपर्ने बताउँदै आएको छ । कांग्रेसको विधानअनुसार महाधिवेशनबाट मात्रै नेतृत्व परिवर्तन हुने स्पष्ट व्यवस्था भएकाले केन्द्रीय समिति र महासमिति बैठकले नेतृत्व परिवर्तन गर्न नसक्ने संस्थापन पक्षका नेताहरुको भनाइ छ ।


