![]()
– मेनुका भण्डारी
मकालुको काखमा रहेको संखुवासभा मनोरम प्रकृतिले सिंगारिएको छ । विविधताले भरिएको भूगोललाइ प्रकृति स्वयंले सिंगारेको छ । विभिन्न जाती, भाषा, धर्म र संस्कृतिको सहिष्णुताले सम्पन्न संखुवासभाले पूर्वी पहाडको शान र पहिचान पनि बोकेको छ । समग्रमा संखुवासभा सुन्दर र समृद्ध छ । अनि संखुवासभाको समृद्धीमा चैनपुरको योगदान चौतर्फी छ ।
चैनपुर, संखुवासभाको पुरानो सदरमुकाम हो । चैनपुर कुनैबेला पूर्वी पहाडको व्यस्त व्यापारिक केन्द्र थियो । धार्मिक किंबदन्ती र एतिहासिक अभिलेखहरुमा समेत उल्लेख भएको चैनपुर कुनैबेला कलात्मक करुवाका लागि पनि कहलिएको ठाँउ हो । चैनपुर, संखुवासभाको दक्षिण पूर्वमा फैलिएर बसेको छ । चैनपुरको चारतिर अरुण, पिलुवा, हेवा र सभाखोला बगेको छ । जलजले हिमाल पश्चिममा रहेको चैनपुर नगरपालिका क्षेत्र साच्चै सुन्दर छ । मनोरम प्राकृतिले सजिएको र जैबिक बिविधताले भरिएको चैनपुरको चारैदिशा वास्तवमै साह्रै रमणीय छ ।
धार्मिक, साँस्कृतिक र पौराणिक रुपमा पनि चर्चा पाएको चैनपुरमा प्रसिद्ध सिद्धकाली मन्दिर छ । स्वस्थानी व्रतकथामा गरिएको बर्णन अनुसार सतिदेबीको दायाँ आखा सिद्धकाली पतन भएको हो । त्यसैगरी बिश्वकै ठुलो प्राकृतिक शिबलिङ्ग रहेको वालेश्वर गुफा, भिरेश्वर गुफा, धार्मिक तथा प्राकृतिक महत्वको बानेश्वर डाँडा र बानेश्वर मन्दिर पनि चैनपुर नगर क्षेत्रमै छन् ।
चैनपुर पुर्वाञ्चल कै पुरानो र ऐतिहासिक महत्वको ठाँउ हो । ऐतिहासिक कालमा किराँतीहरुले शासन गरेको चैनपुलाई त्यसबेला गोला बजार भनिन्थ्यो । कुनैबेला पूर्वको गढीकारुपमा रहेको चैनपुरमा काठमाण्डौंबाट पूर्वको दुरी कोषमा नापेर राखिएको कोषे ढुगाले पनि छ । यसले पनि चैनपुरको इतिहासलाइ उजागर गरेको छ ।
खासगरि काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेको धुलिखेल, बनेपा, सांगा र नालाका नेवारहरु ब्यापारको सिलसिलामा आएर बसोबास गरेसंगै चैनपुर बजारको विकास भयो । नेवारहरुको बसोवाससंगै बसेको नेवारी संस्कार र संस्कृति जगले चैनपुरलाइ समृद्ध बनायो । समृद्धीको यही आधारले पूर्वी पहाडलाइ विकासको बाटो देखाउदै बैभवशाली बनायो । कोसी राजमार्गले सदरमुकाम खाँदबारीलाइ तर्राईसंग जोडेपछि विकास र समृद्धीले अर्को नयाँ आकार पाएको छ । ऐतिहासिक महत्वको चैनपुर बजारका साथै खराङ् बजार र पोखरी बजारले पनि चैनपुर नगर क्षेत्रको विकास र समृद्धीलाइ अझ चम्काएको छ ।
चैनपुर कृषिका लागि पनि उर्वर क्षेत्र हो । चैनपुर नगर क्षेत्रको मलिलो माटोमा प्राय सवै खाले खाद्यन्न बालीका साथै अलैची, उखु, कफि, चिया, अदुवा, खुर्सानी, अम्रिसो र रुद्राक्ष लगायतका नगदेबाली पनि फष्टाएको छ । जैविक विविधताले सम्पन्न चैनपुर नगरपालिकाको करिव २७ सय हेक्टर बन क्षेत्रले ओगटेको छ । नदी, खोला, वन जंगल र रमणीय डाँडाहरुले चैनपुरलाइ चिटिक्कै सिंगारेको छ ।
चैनपुरलाइ हवाइ र सडक यातायातले जोडेको छ । काण्ठमाण्डौ र विराटनगरबाट तुम्लिङटारसम्म सीधा हवाइ सेवा संचालनमा छ । कैलाश डाँडामा नयाँ विमानस्थल निर्माण प्रकृयामा रहेको छ । कैलाशडाँडामा विमानस्थल बनेपछि यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने छ । तुम्लिङटारबाट कालोपत्रे सडक हुँदै सभाखोलाको पुल तरेपछी चम्किलो चैनपुर नगरपालिकाको क्षेत्रभित्र प्रवेश गरिन्छ । त्यसैगरी भारत र चीन जोड्ने किमाथाङ्का–जोगबनी सडकले पनि चैनपुर नगरपालिकालाइ तेह्रथुमको बसन्तपुरबाट जोडेको छ । त्यसैले चैनपुर हवाइ र सडक यातायातले सुगम छ ।
चैनपुरमा रमणीय स्थानहरु प्रशस्त छन् । तर आन्तरिक र वाह्य पर्यटनका लागि पर्यटन प्रवर्द्धनका लागि तीनको प्रचारप्रसार आवश्यक छ । गुफा पोखरी, तातोपानी, साङ्लेवा झरना, थाम पोखरी, सभाखोला, अरुण, हेवा, पिलुवाखोला जस्ता मन मष्तिस्कलाइ मोहनी लगाउने पर्यटकीय स्थलहरु समेत ओझेलमा छन् । समग्रमा कुनैबेलाको व्यापारिक केन्द्र चैनपुर र चैनपुर नगरपालिका क्षेत्र एतिहासिक, धार्मिक, संस्कृतिक, प्राकृतिक, आर्थिक, व्यापारिक र विकासको पूर्ण प्याकेज हो । जहाँ इतिहास, कला र संस्कृतिको अध्ययन, सामाजिक जनजीवन र मनोरम प्रकृतिको अवलोकन खुल्लारुपमा गर्न सकिन्छ । त्यसैले पर्यटकीय गन्तव्यका लागि प्राथमिकतामा राख्न सकिने चैनपुर पुग्दा आतिथ्यताको न्यानो अनुभव पनि गर्न सकिन्छ ।।


