![]()
भारतको उत्तरी गोवास्थित अर्पोरा क्षेत्रमा रहेको चर्चित ‘गोल्डन बर्च बाई रोमियो लेन’ नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा परी ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यस दुखद घटनामा कम्तीमा चार जना नेपाली नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ।
आगलागीमा मृत्यु भएकामध्ये अधिकांश क्लबमा कार्यरत कर्मचारीहरू रहेको र उनीहरूमध्ये चार जना नेपाली रहेको गोवा प्रहरीले आज (मंसिर २२ गते, सोमबार) पुष्टि गरेको छ।
मृतक नेपालीहरूको विवरण
गोवा प्रहरीका अनुसार, क्लबमा कार्यरत २० जना कर्मचारीहरूको मृत्यु भएकोमा चार जना नेपाली रहेका छन्।मृतक नेपाली नागरिकहरूको शवको पोस्टमार्टम भइसकेको र शव गोवास्थित अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
सिलिन्डर विस्फोटपछि फैलियो आगो
राजधानी पणजीबाट करिब २५ किलोमिटरको दूरीमा रहेको यस क्लबमा शनिबार राति करिब १२ देखि १:३० बजेतिर आगलागी सुरु भएको थियो। प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीहरूका अनुसार, भुइँ तल्लाको भान्छा (किचन) क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगो तीव्र गतिमा फैलिएको थियो।
आगलागीमा ज्यान गुमाउने २५ जनामध्ये ५ जना पर्यटक र बाँकी २० जना क्लबका कर्मचारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मृत्यु हुने पर्यटकहरूमा विदेशी नागरिकहरू पनि सामेल रहेको आशंका गरिएको छ।
सुरक्षा मापदण्डमाथि गम्भीर प्रश्न
आगोको तीव्र फैलावट, धुवाँ र पर्याप्त आपतकालीन निकास को अभावका कारण धेरैको मृत्यु निसास्सिएर भएको पाइएको छ। यस घटनाले गोवाको रात्रि जीवन उद्योगमा आगलागी सुरक्षा मापदण्डको पालना र व्यवस्थापनमा गम्भीर लापरबाही भएकोतर्फ औँल्याएको छ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्चस्तरीय छानबिन गर्ने र लापरबाही गर्नेहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। क्लबका प्रबन्धकलाई घटनालगत्तै प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।


