Breaking News.... EverestOnlineKhabar
December 13, 2025

Loading

सहकारी ऐन २०७४ ले एकभन्दा बढी सहकारी बैंक दर्ता गर्ने बाटो खुला गरेपछि सहकारी संस्थाहरूको लगानीमा नयाँ सहकारी बैंक स्थापना हुने भएको छ । हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकले देशभरका सहकारी संघसंस्थालाई समेट्न नसकेको भन्दै नयाँ बैंक दर्ता गर्न लागिएको हो ।

नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका अध्यक्ष तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । “अहिले सञ्चालनमा रहेको बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन,” उनले भने, “त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं ।”

हालसम्म बैंक दर्ताका लागि ७ सयभन्दा बढी संस्थाबाट सेयर प्रतिवद्धता प्राप्त भएको र माघ दोस्रो साता प्रारम्भिक दर्ताका लागि सहकारी विभागमा पेश गर्ने उनले जानकारी दिए । सहकारी ऐन–२०४८ मा सहकारी क्षेत्रको एकमात्र सहकारी बैंक गठन गर्न सकिने व्यवस्था थियो । उक्त व्यवस्थाअनुसार दर्ता भएको राष्ट्रिय सहकारी बैंक सञ्चालनमा छ । देशभर २९ हजार सहकारी संस्था सञ्चालनमा रहेकोमा सहकारी बैंकमा १२ हजार मात्र सदस्य रहेका छन् ।

सरकारको समेत सेयर रहेको बैंकको पुँजी २ अर्ब २२ करोड, निक्षेप ४६ अर्ब ८८ करोड र कर्जा तथा लगानी २७ अर्ब १५ करोड रहेको छ । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । सहकारी बैंकका अतिरिक्त केन्द्रीय र जिल्ला सहकारी संघहरूले पनि वित्तीय कारोबार गर्दै आएका छन् । नयाँ ऐनमा भने एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था राखिएको छ । ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरू गठन गर्न सकिने कुरा उल्लेख छ ।

त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५०१ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरूको संयुक्त सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने, आवेदक संस्था वा संघ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोकिदिएबमोजिम हुने प्रावधान राखिएको छ । अहिलेसम्म राष्ट्र बैंकले सहकारी बैंकलाई अनुमतिपत्र दिनेसम्बन्धी कुनै नीतिगत व्यवस्था गरेको छैन । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) मा पनि सहकारी बैंकलाई अनुमति दिने व्यवस्था छैन । सञ्चालनमा रहेको सहकारी बैंकलाई अन्य संस्थाका रूपमा वित्तीय कारोबार गर्ने अनुमतिपत्र दिएको छ ।प्रस्तावित नेपाल सहकारी बैंक गठन समितिका अध्यक्ष भण्डारी अब राष्ट्र बैंकले सहकारी बैंक सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.