Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

२०७६ माघ ०७, झापा । मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणकार्यले तीव्रता पाएको छ । चारआली–केचना रिङरोड नामाकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग रु १२ करोड १२ लाख ९४ हजार २८१ को लागतमा ठेक्का सम्झौता गरेको थियो तर अहिलेसम्म सो सडक बन्न सकेको थिएन । देशकै होचो भू–भाग कचनकवल पुग्ने सडक निर्माण शुरु भएसँगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन् । सडक सञ्जालको पहुँच कचनकवलसम्म नपुग्दा झापाकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा रहेको केचना आफैँ ओझेलमा परेको थियो । कचनकवल गाउँपालिका–४ मा नेपालकै होचो भू–भाग कचनकवल स्तम्भ रहेको छ ।

यहाँसम्म पुग्ने सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटक केचनाबजार पुगेर पनि व्यवस्थित सडक नहुँदा त्यहीबाट फर्कने गरेका थिए । भारतीय सीमावर्ती नाका नजिकै पर्ने कचनकवल स्तम्भको पर्यटकीय सम्भावनालाई ख्यालमा राख्दै नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ मा कचनकवल स्तम्भ भएर जाने चक्रपथ (रिङरोड) बनाउने योजना अघि सार्दै सडक निर्माणको काम अघि बढाएको थियो तर निर्माण कम्पनीले काम गर्न सकेको थिएन । रिङरोडका लागि बजेटको व्यवस्थापन प्रदेश सरकार कि सङ्घीय सरकारले गर्ने भन्ने विषयमा टुङ्गो लाग्न नसक्दा सो सडक बन्न नसकेको डिभिजन सडक कार्यालय दमकका सबइञ्जिनीयर सरोज सुवेदीले बताए । सङ्घीय सरकारले सो सडक निर्माण गर्ने जनाएपछि काम शुरु भएको सुवेदीको भनाइ छ ।

सडक निर्माणसँगै आठ दशमलव दुई किलोमिटरको रिङरोडमा ह्युमपाइप तथा स्ल्याब कल्भर्ट निर्माण हुने उनको भनाइ छ । केचना सीमाबाट कचनकवल स्तम्भ हुँदै सुकुनाडागीको चाराआली–केचना सडकसम्म जोड्ने रिङरोडको काम चालू छ । रिङरोडका लागि पहिलो चरणको काम यसअघि नै भएको निर्माण कम्पनीका प्राविधिक वैद्यनाथ महतोले बताए ।

रिङरोड सडकभित्र पर्ने क्षेत्रमा ह्युमपाइप तथा स्ल्याब कल्भर्टमध्ये केही निर्माण भइसकेको छ भने केही बनाउन बाँकी रहेको महतोको भनाइ छ । अहिले सडकलाई सम्याउने काम भइरहेको र साढे पाँच मिटर सडक तत्काल कालोपत्र गरिने उनले बताए । सडक बन्न शुरु गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने भन्दै कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले गाउँपालिकाको तर्फबाट सडक निर्माणमा सहयोग पु¥याउने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed