काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फिर्त्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले आलटाल गरेको छ । सर्वोच्चले आदेश दिएको दुई साता बितिसके पनि राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ ।पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएका तीन बैंकहरूलाई पत्राचार गरेको छ। रकम भने ती बैंकबाट पनि अन्तै सारिइसकेको आशंका राष्ट्र बैंककै अधिकारीहरूको छ। यसबारे बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन्।राष्ट्र बैंकले ‘सुमार्गीको खाता नरोक्नू’ भन्ने सर्वोच्च अदालतको अघिल्लो अन्तरिम आदेशको भोलिपल्टै रकम निकासाको अनुमति दिएको थियो। तर सर्वोच्चले आफ्नो अन्तरिम आदेश सच्याउँदै उनको मुक्तिश्री सिमेन्टमा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन पुस २४ गते दिएको अर्को आदेश भने अझै कार्यान्वयन भएको छैन।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सुमार्गीले रकम सारिसकेका अन्य बैंकलाई फित्र्याउन पत्राचार गरेको मात्र जानकारी दिए। सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) मध्ये १० करोड रुपैयाँ महालक्ष्मी विकास बैंक, २५ करोड रुपैयाँ नेपाल बंगलादेश बैंक र २० करोड प्राइम कमर्सियल बैंकमा सारेका थिए। बाँकी रकम इन्भेस्टमेन्ट बैंकमै छ। चार बैंकमा रहेको यो रकममध्ये उनले केही ऋण भुक्तानीका लागि प्रयोग गरिसकेका छन्।तर बैंकिङ क्षेत्रकै कानुनविद्हरू पत्राचार आदानप्रदानमा अल्मलिएर राष्ट्र बैंकको आलटाल गरिरहेको बताउँछन्। ‘जुन बैंकलाई पत्राचार गरिएको हो, त्यसबाट पनि सुमार्गीले रकम सारिसकेका हुन सक्छन्,’ एक कानुनविद्ले भने, ‘बैंकहरूबाट विवरण मगाएर राष्ट्र बैंकले केही घण्टामै खाता रोक्का राख्न सक्ने अधिकार प्रयोग नगरी पत्राचारमै समय गुजारिरहनु शंकास्पद छ।
अर्थमन्त्री युवराज खतिवडाले सुमार्गीको रकम भएका बैंकहरूको खाता रोक्का राख्नू भन्ने निर्देशन दिएका थिए। अर्थ मन्त्रालयले सुमार्गीको रकम अघिल्लो पटक हतारमा निकासा दिने गभर्नर नेपाल र राष्ट्र बैंकका अधिकारीहरूमाथि छानविन गरिरहेको छ।
यसअघि पनि सुमार्गीले नेपाल स्याटेलाइट टेलिकमका नाममा राखेर रोक्का रहेको करिब २ अर्ब २० करोड रुपैयाँ सर्वोच्चको अन्तरिम आदेशबाट फुकुवा भइसकेको छ। मुद्दा भने अझै सर्वोच्चमा विचाराधीन छ। राष्ट्र बैंकले रोकिदिएको विदेशी लगानीको पूरै रकम सर्वोच्चका विगतका आदेशहरूले फुकुवा भइसकेको छ। सुमार्गीले हालसम्म करिब १२ अर्ब रुपैयाँ विदेशी लगानी भन्दै भित्र्याइसकेका छन्।