![]()
काठमाडौं। नेकपाको स्थायी कमिटी बैठकमा नेता लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका छन् ।
झा भ्रष्ट छविको व्यक्ति भएको भन्दै उनले आफू मन्त्री हुँदाको समय झाले आयल निगममा नियुक्त हुनको लागि घुसको प्रस्ताव गरेको खुलासा गरे । त्यस्तो विवादित व्यक्तिलाई किन र कुन आधारमा नियुक्ति गरिएको हो त्यसबारे पार्टी र सरकारले जवाफ दिनुपर्ने उनले माग गरे ।
‘म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा दीगम्बर झाले घुस प्रस्ताव गरेका थिए । त्यतिबेला उनी मान्छे ठीक छैनन् भनेर मैले मतलब गरिन तर त्यही व्यक्तिलाई सरकारले किन नियुक्ति गर्यो यसबारे पुनर्विचार गरियोस् ’, उनले भने, ‘त्यतिबेला झाले घुस प्रस्ताव गरेको कुरा मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएका थिएँ। ’
उनले पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डले ल्याएको प्रतिवेदन पार्टीको हाइट अनुसारको नभएको भन्दै त्यसलाई सच्याइनुपर्नेमा जोड दिए ।
यस्तै उनले भ्रष्टाचार अहिले विकराल समस्याका रुपमा देखिएको भन्दै त्यसको नियन्त्रणका लागि पार्टी र सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


