Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बामदेव गौतमको प्रतिवेदनले भन्छ–‘सरकार नेकपाले चलाएको छैन’

Loading

काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् । १६ पेजको उक्त प्रतिवेदनमा पार्टी र सरकारका कमीकमजोरीलाई नेता गौतमले प्रतिवेदनमा समावेश गरेका छन् । गौतमले पेश गरेको प्रतिवेदनमा उनले केपी ओली नेतृत्वको सरकारलाई यसरी हेरेका छन् ।

प्रतिवेदनको केही अंश जस्ताको तस्तै–

नेता गौतमको नजरमा सरकार

  • सरकारले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेपछि चारैतिर निराशा छाउन थाल्यो । अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरूका गतिविधिहरूले जनतामा निराशा झन् बढ्न थालेको छ ।
  • पार्टीको नेतृत्व र सरकारको नेतृत्व लिनुभएका कमरेडहरूले पार्टी कार्यकर्ता र जनतामा देखापरेको निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्नेतर्फ कुनै कदम चाल्नु भएन ।
  • सरकारका ९ महिनाका गतिविधिले सरकार प्रगतिशील परिवर्तन र प्रगति पथमा अघिबढ्न नसकेको स्पष्ट भएको छ । सरकारसँग संविधानले मार्गदर्शन गरेको समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणको एउटा पनि कार्यक्रम छैन ।
  • निर्वाचन घोषणापत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन अर्थात् पाँच वर्ष, दस वर्ष र पच्चीस वर्षसम्मका लक्ष्यहरू अगाडि सारिएका छन् । आगामी पच्चीस वर्षमा विकसित देशको दाँजोमा पुग्ने घोषणा गरिएको छ । तर सरकारसँग निर्वाचन घोषणापत्रमा अघि सारिएका नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता नै देखिएन । सरकारसँग पार्टीमा छलफल गरी वैधानिक रूपमा निर्माण गरिएको कुनै रणनीतिक योजना पनि छैन ।
  • नेपालको लोकतान्त्रिक इतिहासमा सबभन्दा शक्तिशाली संस्थाका रूपमा रहेको वर्तमान सरकार भने दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट विस्थापित भइरहेको छ ।
  • दुईतिहाई समर्थन प्राप्त सरकारको पक्षमा न संसद्मा, न सडकमा, न छापामा, न भाषणमा, न बोलीमा, कतै पनि समाजका जिम्मेवार व्यक्ति तथा जनताले पक्षपोषण गरेको देखिँदैन ।
  • केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टीको वर्चस्वयुक्त सरकार हुनु अत्यन्त सुनौलो अवसर हो । तर यस्तो अवसरको सदुपयोग गर्नेतर्फ नेतृत्व गम्भीर देखिँदैन ।
  • निर्वाचन घोषणापत्र तथा सुशासन र विकासका प्राथमिकताहरूलाई बेवास्ता गरेपछि सरकारसँग अहिले न दूरदृष्टि छ न त प्रभावकारी वार्षिक कार्ययोजना । आज प्राप्त भएको दुई तिहाई बहुमत आफैलाई च्याप्ने बोझ बनेर प्रकट हुने सम्भावना बारे बौद्धिक व्यक्तित्वहरू विश्लेषण गर्न लागेका छन् ।
  • हामीले घोषणापत्रमार्फत सार्वजनिक गरेका राष्ट्रियतासम्बन्धी कतिपय विषय अनुरूप सरकार अगाडि बढिरहेको अनुभूति भइरहेको छैन । नेपाल कम्युनिस्ट पार्टीको यति ठूलो बहुमतको सरकारले राष्ट्रियताको झण्डालाई बुलन्द गर्न सकेन भने भविष्यमा जनताको प्रतिक्रिया कस्तो होला ? समयमै विचार गर्नुपर्छ कि !
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र आजको यो सरकारलाई असफल हुने कुनै छुट छैन । पार्टी र सरकारको सम्पूर्ण शक्ति त्यसतर्फ परिचालित हुनुपर्छ । जसले असफल गराउने भूमिका खेल्नेछ, त्यसलाई इतिहासले कहिल्यै क्षमा दिनेछैन ।
  • पार्टी र सरकारमा भएका उपरोक्त क्रियाकलाप र गतिविधिले के प्रष्ट पार्छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सर्वत्र व्यक्तिवादी कार्यशैली लागू गरिएको छ ।
  • आज पार्टीले सरकार चलाएको छ कि सरकारले पार्टी चलाएको छ बुद्धिजीवीहरूले प्रश्न गर्न थालेका छन् । दुःखका साथ भन्नुपर्छ पार्टीले सरकार त चलाएकै छैन । सरकारले पार्टी चलाउने कुरै आउँदैन ।
  • कम्युनिस्ट विचार र पार्टीका घोषित विरोधी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सरकारी सहयोग र संरक्षण दिइएको देखिएको छ । यस्तो प्रवृत्ति हालै काठमाडौँमा आयोजित एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा प्रकट भएको छ ।
  •  राजनीतिक विषयमा निर्णय गर्नुपर्दा स्थायी कमिटीबाट नै गर्ने, सरकारले गर्नुपर्ने महत्त्वपूर्ण निर्णयहरू स्थायी कमिटीको जानकारीविना गर्न नपाइने व्यवस्था गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed