![]()
काठमाडौँ । संविधान संंशोधनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सत्तारूढ दल संघीय समाजवादी फोरम केन्द्रीय सदस्यले नेतृत्वको आलोचना गरेका छन् । काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान संशोधन नभएको, मधेस मुद्दा ओझेलमा परेको भन्दै केन्द्रीय सदस्यले दुःख मनाउ गरेका थिए ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले संविधान संशोधनमा पार्टी उदासीन देखिएको भन्दै आश्चर्य प्रकट गरेका थिए । उनीहरूले तत्काल संविधान संशोधन नहुने, मधेसी जनताको मागको सम्बोधन नहुने हो भने सरकारमा बसिरहनुको औचित्य पुष्टि नहुने तर्क गरेका थिए ।
पार्टी नेतृत्वले यस विषयलाई गम्भीरतापूर्वक लिए पनि सरकारबाट हटिहाल्ने मनशायमा फोरम नरहेको र सत्तामै बसेर सङ्घर्ष गर्ने र मधेस मुद्दा स्थापित गरिछाड्ने मनसायमा नेतृत्व रहेको बताए ।
फोरमले महाधिवेशनको तिथि सारेको छ । फोरमले वैशाख २८, २९, ३० गते जनकपुरमा महाधिवेशन गर्ने तयारी गरेको हो । महाधिवेशन लक्षित गरि आगामी २५ गतेभित्र सदस्यता नवीकरण गर्न सम्बन्धित प्रदेश, जिल्ला तहका कमिटीहरूलाई निर्देशन दिइएको अधिकारीको भनाइ छ ।
त्यस्तै वडा, जिल्लातहमा तदर्थ कमिटी बनाउन बाँकी रहेका ठाउँमा पुस १५ भित्र कमिटी गठन गर्न र फागुन २५ भित्र वडा, गाउँपालिका, नगर, उपमहानगर र महानगरपालिकाको अधिवेशन गर्न पनि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
प्रदेश, प्रतिनिधि, जिल्ला समन्वय स्तरका समितिको अधिवेशन चैत ५ र ३० चैतभित्र प्रदेश अधिवेशन गर्ने निर्णय फोरमले गरेको छ ।
नवीकरण भएका केन्द्रीय सदस्यको विवरण पठाउने म्याद १० फागुन तोकिएको छ भने पुषको दोस्रो हप्तासम्ममा प्रदेश स्तरीय प्रशिक्षण भेलाको आयोजना गर्ने अधिकारीले बताए ।


