![]()
बीबीसी । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् ।
चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वानझाउ हाल हुवाएकी प्रमुख वित्तीय अधिकृत हुन् । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवाएले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान शुरु गरेको बताइएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हुवाएका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् ।
संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबका सन्दर्भमा तीन महिने युद्धबिराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ । दुबै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ ।
मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ । साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ । मध्यान्हसम्म साङघाइ स्टक एक्सचेन्ज एक दशमलब ३ र हङकङ स्टक दुई दशमलब ६ प्रतिशतले घटेको छ ।


