![]()
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औं शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् ।
शनिबार सुरु भएको ‘एसिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भए पनि गरिबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरेका छन्।
जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे सोच्नुपर्नेमा पनि उनले जोड दिए। प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनहरुको चरणपछि मुलुक विकास र समृद्धिको चरणमा रहेको बताए।
सरकार तथा संघीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी छन्। सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ।छ।


