Breaking News.... EverestOnlineKhabar
May 1, 2026

रुस-युक्रेन तनाव: अमेरिकाद्वारा रुसविरुद्ध थप प्रतिबन्ध लगाउन सुझाव

Loading

बीबीसी । अमेरिकाले क्राइमियाको प्राय:द्वीपबारे युक्रेन र रुसबीच जारी द्वन्द्वमा युक्रेनलाई साथ दिन युरोपेली देशहरूलाई थप काम गर्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाइनुपर्ने बताएका छन्।

अर्कोतिर रुसी सुरक्षा निकायले क्राइमियाको समुद्री क्षेत्रमा रहेका युक्रेनी नौसैनिक डुङ्गामा आक्रमण गरी नियन्त्रणमा लिइएका तीन युक्रेनी नाविकहरूको वक्तव्य सार्वजनिक गरेका छन्। रुसले वक्तव्य दिन लगाएका एक युक्रेनी नौसैनिक सदस्यले आफूहरूको गतिविधि उक्साउने प्रकृतिको रहेको स्विकारेका छन्।

युक्रेनी नौसैनिक कमान्डरले भने उनीहरूलाई रुसले दबाव दिएर झुट्टो बोल्न बाध्य पारिएको बताएका छन्। यही बेला क्राइमियाको अदालतले आइतवार नियन्त्रणमा लिइएका २४ मध्ये १२ युक्रेनीलाई ६० दिनसम्म थुनामै राख्न आदेश दिएको छ। बाँकी युक्रेनीहरूबारे बुधवार निर्णय गरिने अपेक्षा गरिएको छ।

चार वर्ष पहिले क्राइमिया आफ्नो भूभागमा गाभेको रुसको त्यस्तो कार्यको पश्चिमा देशहरूले निन्दा गरेका छन्। रुस र युक्रेनका नौसैनिक बीचको झडप हालैका वर्षहरूमा भएको पहिलो खुल्ला द्वन्द्व हो। यद्यपि रुसको समर्थन पाएका पृथक्तावादीहरू र स्वयम्सेवकहरू युक्रेनी सेनासँग पूर्वी युक्रेनमा लडिरहेका छन्।

युक्रेन र रुसबीच द्वन्द्व चर्किएका बेला अमेरिकाले चाहिँ रुस र जर्मनी जोड्ने ग्यास पाइपलाइन परियोजनासमेत रोक्नु पर्ने सुझाव दिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले ‘रुसी हस्तक्षेप’को भर्त्सना गरेका छन्।

यो वर्ष रुसले सी अफ आजोफतर्फ अघि बढ्ने क्राइमियाको कर्च स्ट्रेट जलमार्ग र रुस जोड्ने पुल खुलाएपछि तनाव बढेको हो। सन् २००३ मा मस्को तथा कियभस्थित सरकारहरूबीच भएको सन्धिअनुसार कर्च स्ट्रेट जलमार्ग र सी अफ आजोफ दुवै देशका साझा समुद्री क्षेत्र हुन्। तर रुसले युक्रेनी जहाजहरू अवैध रूपमा उसको समुद्री क्षेत्रमा प्रवेश गरेको बताएको छ।

तर युक्रेनले सो घटना आवागमनको लागि स्वतन्त्र क्षेत्रमा भएको बताएको छ। त्यसपछि पनि सी अफ आजोफतर्फ जाने एकमात्र जलमार्ग कर्च स्ट्रेटतर्फ पानी जहाजहरू अघि बढेको तर रुसले कर्च स्ट्रेटमुनि एउटा ट्याङ्कर राखेर अवरोध सिर्जना गरेको र जहाजहरू नियन्त्रणमा लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed