Breaking News.... EverestOnlineKhabar
May 1, 2026

आप्रवासी रोक्न अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ फौज पठाउँदै

Loading

बीबीसी । मेक्सिको हुँदै हजारौँ सङ्ख्यामा मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमामा ५,२०० फौज पठाउँदैछ। जेनरल टेरेन्स ओसोनुसीले ‘अपरेशन फेथफुल पेट्रिओट’ नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रित हुने बताए।

त्यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूले ‘अतिक्रमण’ गरे उनीहरूको सामना गर्न अमेरिकी सेना तयारी अवस्थामा रहने बताएका थिए। गत एप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सिमानामा न्याशनल गार्डका २,१०० सदस्य तैनाथ छन्।

एक हप्तापछि हुने संसदीय चुनावमा राजनीतिक फाइदा पुग्ने गरी अमेरिकाका दुवै राजनीतिक पक्षले आप्रवासीहरूको विषयलाई प्रयोग गरेको एकअर्कामाथि आरोप लगाइरहेका छन्। नोभेम्बर ६ मा हुने सो चुनावबाट राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमाथिको आफ्नो नियन्त्रण डेमोक्र्याट्सको हातमा जान नदिन खोज्नेछ।

मेक्सिको हुँदै अघि बढिरहेका आप्रवासीहरू अमेरिकी सिमानादेखि अझै करिब १,६०० किलोमिटर पर छन्। जेनरल ओसोनुसीले सीमा सुरक्षा बललाई सघाउने गरी अस्त्र, हेलिकप्टर, हवाईजहाज, सुरक्षा तारवारसहित यसै हप्ताको अन्त्यतिर फौज परिचालन गरिने बताए।

अमेरिकी सीमा सुरक्षासम्बन्धी निकाय कस्टम्स एन्ड बोर्डर प्रोटेक्शन (सीबीपी) का आयुक्त केभिन म्याकएलिनानले पनि सोमवार पत्रकार सम्मेलनलाई सम्बोधन गरे।

उनले आप्रवासीहरूलाई अमेरिकी सीमासम्म आइपुग्न अझै कैयौँ हप्ता लाग्न सक्ने बताए। सिमानामा पठाइने फौजको सङ्ख्याबारे गरिएको अनुमानभन्दा धेरै बढी सङ्ख्यामा पठाउन लागिएको छ। यसअघि आठ सय फौज पठाइने अनुमान गरिएको थियो। वाल स्ट्रीट जर्नलका अनुसार सिमानामा फौजको सङ्ख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको भन्दा बढी हुनेछ।

सोमवार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, “दक्षिणी नाकातर्फ बढिरहेको आप्रवासीको लश्करमा आपराधिक समूहका सदस्य र केही नराम्रा मानिस पनि मिसिएका छन्।”

“कृपया तपाईँहरू फर्किनुस्, कानूनी प्रक्रियाबाट नआएसम्म तपाईँहरूलाई अमेरिकामा प्रवेश दिइने छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed