![]()
एजेन्सी । ओपनर बाबर अजमको ४५ तथा मोहम्मद हफिजको ४० रन र उत्कृष्ट बलिङप्रेरित पाकिस्तानले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै तीन खेलको ट्वान्टी–२० शृखंला जितेको छ ।
टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ८ विकेट गुमाएर १३६ रनमात्र जोड्न सक्यो ।
पाकिस्तानका बाबरले ४४ बलमा ३ चौकासहित ४५ रन जोड्दा हफिजले ४० रन बनाए । बाबर र हफिजबाहेक सोएब मलिकले १४ र फखर जमानले ११ रन बनाउँदा फहीम अश्रफ १७ रनमा अविजित रहे । अस्ट्रेलियाका नाथन कोल्टर–नेलले ३ विकेट लिँदा विल्ली स्टेनलेकले २ विकेट तथा डी’आर्की शोर्टले १ विकेट लिए ।
१४८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका ग्लेन म्याक्सवेलबाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । म्याक्सवेलले ३७ बलमा ४ चौका र २ छक्कासहित ५२ रन बनाए पनि टोलीको जिताउन त्यो पर्याप्त भएन । मिचेल मार्शले २१ तथा कोल्टर–नेलले २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका शाडब खान र शाहिन शाह अफ्रिदीले समान २ विकेट लिए भने हफिज र इमद वासिमले १/१ विकेट लिए ।
पाकिस्तानले पहिलो ट्वान्टी–२० खेल ६६ विकेटले जितेको थियो । तेस्रो ट्वान्टी–२० खेल आइतबार हुनेछ ।


